शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

ब्रड पिक हिमपहिरोमा चार पर्वतारोहीको शव फेला

शुक्रबार, साउन १५ २०८३

काठमाडौं ।  ब्रड पिकमा गएको हिमपहिरोपछि उद्धारमा खटिएको स्थल टोलीले चार जना पर्वतारोहीको शव फेला पारेको छ।

पर्यटनमन्त्री गनेश पौडेलका अनुसार हालसम्म चार वटा शव फेला परेका छन्। यद्यपि, शवको राष्ट्रियता भने अझै पुष्टि हुन सकेको छैन।

मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत उद्धार टोलीले चार वटा शव फेला पारेको जानकारी दिँदै खोज तथा उद्धार कार्य जारी रहेको बताएका छन्। हेलिकप्टरसहित अन्य उद्धार टोलीले बेपत्ता पर्वतारोहीको खोजी गरिरहेका छन्।

पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष इरफान अरशद खानले पनि चार वटा शव फेला परेको पुष्टि गरेका छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत स्थल उद्धार टोलीले चार शव बरामद गरेको जानकारी दिएका हुन्।

यसअघि ब्रड पिकमा गएको हिमपहिरोमा परी प्रख्यात पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको थियो। टोलीमा पाँच नेपालीसहित पाकिस्तान, ओमान, अमेरिका र चीनका आरोही रहेको बताइएको थियो।

बेपत्ता आरोहीहरूको खोज तथा उद्धार कार्य जारी रहेकाले उनीहरू सबै सकुशल फेला पर्ने आशा गरिएको छ।