काठमाडौं । राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको छ।
त्यसैगरी, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ।
यसैबीच, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आज अपराह्न २ बजे बस्ने भएको छ। समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल हुने कार्यक्रम छ।
समितिको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई आमन्त्रण गरिएको छ।