काठमाडौं। उत्तरी पाकिस्तानस्थित ब्रोड पिकमा हिमपहिरोमा परी प्रख्यात पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ।
पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैद्रीले बिहीबार राति जारी गरेको विज्ञप्तिअनुसार निर्मल पुर्जाको नेतृत्वमा रहेको टोली हिमपहिरोमा परेपछि सम्पर्कविहीन भएको हो।
एसोसिएटेड प्रेसका अनुसार उक्त आरोहण टोलीमा पुर्जासहित पाँच नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी, एक चिनियाँ तथा एक जनाको राष्ट्रियता खुल्न नसकेको आरोही रहेका छन्।
हिमपहिरोपछि टोलीसँग सम्पर्क हुन नसकेपछि उद्धार तथा खोजीका लागि पहल थालिएको छ। पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अरशदसहित क्लबका वरिष्ठ पदाधिकारीले सरकारी अधिकारीसँग समन्वय गरी तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्ने तयारी भइरहेको जनाएका छन्।
ब्रोड पिक पाकिस्तानको गिलगित–बाल्टिस्तान क्षेत्रमा अवस्थित विश्वको १२औँ अग्लो हिमाल हो।