शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

शुक्रबार, साउन १५ २०८३

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी तथा सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ।

नेपाल प्रहरीले बिहीबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको र केही सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राखी बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा तामाकोशी खोलाको बहावले सडक कटान गरेपछि यातायात प्रभावित भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु सडकखण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

ललितपुरको बागमती गाउँपालिका–३ स्थित कान्तिलोकपथमा पहिरो खसेपछि सडक बन्द भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ स्थित महालक्ष्मी खोला नजिक पहिरो खस्दा भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यस्तै, जाजरकोट–डोल्पा सडकअन्तर्गत मूलपानी खोलामा बाढीले सडक कटान गरेपछि यातायात पूर्ण रूपमा रोकिएको छ। बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र रघुगङ्गा गाउँपालिका–२ मा बिहीबार बिहान पहिरो खसेपछि उक्त सडकखण्ड पनि अवरुद्ध भएको छ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च हुने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ। साथै, सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन पनि प्रहरीले सबैलाई अनुरोध गरेको छ।