काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा सरकारबीच सातबुँदे सहमति भएको छ।
सहमतिअनुसार सरकारले मृतकद्वयलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र दुवै परिवारलाई जनही रु १० लाख राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने सहमति भएको छ। यस्तै, देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियतबारे पनि तत्काल छानबिन प्रक्रिया अघि बढाइने भएको छ।
सम्झौताअनुसार मृतक दुवैका परिवारका योग्य एक–एक जना सदस्यलाई रोजगारीको व्यवस्था गरिनेछ। साथै, छानबिन समितिको सुझावका आधारमा मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँग समन्वय गरी स्मृति उद्यान निर्माण गरिने भएको छ।
सम्झौतापत्रमा मृतक परिवारका प्रतिनिधि तथा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्।
सरकारले सम्झौतामा उल्लेख गरिएका प्रतिबद्धता समयमै कार्यान्वयन गर्ने विश्वास पीडित परिवारले व्यक्त गरेका छन्। सरकारले पनि सहमतिका सबै बुँदा चरणबद्ध रूपमा कार्यान्वयन गर्ने जनाएको छ।
मेहताद्वयको आजै अन्त्येष्टि गरिने बताइएको छ।
