काठमाडौँ ।नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनका अवसरमा प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले विगतका सहमति कार्यान्वयन तथा निर्माणका क्रममा उत्पन्न समस्याको स्थायी समाधानको माग गर्दै शान्तिपूर्ण धर्ना तथा प्रदर्शन गरेका छन्।
सुरुङमार्ग उद्घाटन कार्यक्रममा सरकार र आयोजनाको ध्यानाकर्षण गराउने उद्देश्यले गरिएको प्रदर्शनमा स्थानीयले खानेपानी, क्षतिपूर्ति, रोजगारी र सुरक्षालगायतका माग अघि सारेका छन्।
प्रदर्शनकारीले खानेपानी आयोजना सञ्चालनको सुनिश्चितता, निर्माणका क्रममा चर्किएका घरहरूको प्राविधिक मूल्याङ्कन गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा सिस्नेखोला पानी लिफ्टिङ आयोजना कार्यान्वयन गर्न माग गरेका छन्।
त्यसैगरी, सुरुङमार्गमा स्थानीय बासिन्दाको सहज आवतजावतको व्यवस्था मिलाउन, प्रभावित क्षेत्रका जनशक्तिलाई रोजगारीमा प्राथमिकता दिन तथा यस क्षेत्रलाई ‘विशेष प्रभावित क्षेत्र’ घोषणा गरी सुरक्षाको प्रत्याभूति दिनुपर्ने उनीहरूको माग छ।
धर्ना कार्यक्रममा बोल्दै स्थानीय प्रतिनिधिहरूले राष्ट्रिय गौरवको आयोजनाको विरोध नभई प्रभावित नागरिकका समस्याको समाधान खोजिएको स्पष्ट पारे। उनीहरूले राज्यले आफ्ना आधारभूत समस्या समाधानमा चासो नदिएको गुनासो गर्दै विदेशी कूटनीतिज्ञ सहभागी हुने कार्यक्रममा आफ्नै नागरिकको पीडा बेवास्ता गरिएको टिप्पणी गरे।
स्थानीयको भनाइ उद्धृत गर्दै उनीहरूले भने, “हामी राष्ट्रिय गौरवको यो आयोजनाको बाधक बन्न चाहँदैनौँ, तर हाम्रा आधारभूत समस्याहरू सम्बोधन हुनुपर्छ। हाम्रा मागहरू सम्बोधन भएमा हामी मन्त्रीज्यूलाई स्वागत गर्न तयार छौँ।”
प्रदर्शनकारीले यसअघि सरकारी निकायसँग भएका निर्णय र प्रतिबद्धता तत्काल कार्यान्वयन गर्न माग गर्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।