मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

म्याग्दीमा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु, एक महिलाको सकुशल उद्धार

सोमबार, साउन ११ २०८३

गण्डकी । अविरल वर्षापछि गएको पहिरोमा परी म्याग्दीमा एक वृद्धको मृत्यु भएको छ भने अर्को स्थानमा पहिरोमा पुरिएकी एक महिलाको सकुशल उद्धार गरिएको छ। वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक पनि अवरुद्ध भएका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतमा गएराति पहिरोले घर पुरिँदा ७० वर्षीय लालवीर छन्त्यालको घटनास्थलमै मृत्यु भएको हो। प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार छन्त्याल घरभित्र सुतिरहेको अवस्थामा पहिरोले घर पुरेको थियो।

यस्तै, धवलागिरि गाउँपालिका–७ धारापानीको हाडेभिरमा पहिरोमा पुरिएकी ६३ वर्षीया धनकुमारी थापाको सकुशल उद्धार गरिएको छ। इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरिएको प्रहरीले जनाएको छ।

गएरातिको निरन्तर वर्षाका कारण सदरमुकाम बेनीबाट ग्रामीण क्षेत्र जोड्ने अधिकांश सडक अवरुद्ध भएका छन्। विभिन्न स्थानमा गएको पहिरोले पशुचौपाया तथा भौतिक संरचनामा समेत क्षति पुगेको छ।

त्यसैगरी, पहिरोका कारण कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक पनि अवरुद्ध बनेको छ। सडक योजना, पूर्वाधार विकास कार्यालय तथा स्थानीय तहले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेका छन्।