काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीनवटा संसदीय समितिको बैठक आज बस्दैछ। विभिन्न नीतिगत तथा समसामयिक विषयमा छलफल गर्न समितिहरूको बैठक आह्वान गरिएको हो।
सङ्घीय संसद् सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज फरक–फरक समयमा बस्नेछ।
अपराह्न २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ को कार्यान्वयन अवस्थाबारे समीक्षा तथा छलफल गरिने कार्यसूची रहेको छ।
यस्तै, बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना सम्बन्धमा विस्तृत छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी, बिहान ११ः३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित केन्द्रीय इतिहास विभागका पदाधिकारीसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।