काठमाडौं । विश्वकै अग्रणी विधुतीय सवारी निर्माता बीवाईडीले आफ्नो नयाँ ‘८ सिरिज टाङ’ इलेक्ट्रिक एसयूभीको उत्पादन संस्करण पहिलोपटक सार्वजनिक गरेको छ। डाइनास्टी सिरिजअन्तर्गत पर्ने यो नयाँ मोडलले आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र लामो रेन्जका कारण बजारमा चर्चा बटुलेको छ।
डाइनास्टी सिरिजका महाप्रबन्धक लु तियानले सार्वजनिक गरेका आधिकारिक तस्बिरसँगै एसयूभीका प्रमुख विवरण पनि सार्वजनिक भएका हुन्। यसअघि चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी)मा दर्ता भएको विवरणले यसको आयाम, सिट व्यवस्था र विद्युतीय पावरट्रेनसम्बन्धी जानकारी पुष्टि गरेको थियो।
बीवाईडीका अनुसार नयाँ ८ सिरिज टाङ मध्यमदेखि ठूलो आकारको पारिवारिक एसयूभी हो। कम्पनीले यसलाई मुख्य रूपमा पाँच सिटे मोडलका रूपमा विकास गरेको भए पनि केही भेरियन्टमा सात सिटको विकल्प पनि उपलब्ध हुनेछ। यो एसयूभी ५,०४५ मिमि लामो, १,९८० मिमि चौडा, १,७६० मिमि अग्लो र २,९५० मिमि ह्विलबेस भएको मोडल हो।
यसमा बीवाईडीको टीजेड२०५क्यूवाइडी स्थायी चुम्बकीय सिन्क्रोनस इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले अधिकतम ३०० किलोवाट शक्ति उत्पादन गर्छ। यसको निरन्तर आउटपुट १५० किलोवाट रहेको छ भने अधिकतम गति २५० किलोमिटर प्रतिघण्टा पुग्ने कम्पनीको दाबी छ।
कम्पनीले ब्याट्री क्षमताबारे औपचारिक जानकारी सार्वजनिक नगरे पनि यसमा लिथियम–आइरन–फस्फेट (एलएफपी) ब्याट्री प्रयोग हुने पुष्टि गरेको छ। बीवाईडीका अनुसार यो एसयूभीले एकपटक पूर्ण चार्जमा ८०० किलोमिटरभन्दा बढी यात्रा गर्न सक्छ। यद्यपि यो रेन्ज कुन परीक्षण मापदण्डमा आधारित हो भन्ने खुलाइएको छैन।
चिनियाँ सञ्चारमाध्यमका अनुसार नयाँ मोडलमा दोस्रो पुस्ताको ब्लेड ब्याट्री, फ्ल्यास चार्जिङ, डाइसस–ए इन्टेलिजेन्ट बडी कन्ट्रोल प्रणाली र डुअल–चेम्बर एयर सस्पेन्सन जस्ता प्रविधि समावेश हुन सक्छन्। तर कम्पनीले यी सुविधाबारे आधिकारिक पुष्टि गरिसकेको छैन।
हाल बीवाईडीसँग टाङ एल र ९ सिरिज टाङ जस्ता मोडल बजारमा छन्। नयाँ ८ सिरिज टाङ ले टाङ एललाई प्रतिस्थापन गर्ने वा छुट्टै मोडलका रूपमा बिक्री हुने भन्ने विषय अझै स्पष्ट भएको छैन।
बीवाईडीले हालसम्म नयाँ एसयूभीको मूल्य, बिक्री सुरु हुने मिति र भेरियन्टबारे औपचारिक घोषणा गरेको छैन। उद्योग स्रोतका अनुसार यो मोडल सन् २०२६ को दोस्रो छ महिनाभित्र बजारमा आउने अपेक्षा गरिएको छ।