मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश, सम्पत्ति शुद्धीकरण मुद्दामा भने थुनामै रहने

शुक्रबार, साउन १ २०८३

काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल विरुद्ध दायर तीन फरक मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बीमा ऐन र धितोपत्रसम्बन्धी कसुरका मुद्दामा धरौटी माग गर्दै उनीहरूलाई रिहा गर्न आदेश दिएको हो।

अदालतले बीमा ऐनअन्तर्गतको मुद्दामा सुलभ अग्रवालसँग २ करोड रुपैयाँ र दीपक भट्टसँग १ करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको छ।

त्यस्तै, धितोपत्रसम्बन्धी ऐनअन्तर्गतको अर्को मुद्दामा अदालतले अग्रवालसँग २ करोड ३० लाख रुपैयाँ धरौटी माग गरेको छ।

यसैगरी, तेस्रो धितोपत्रसम्बन्धी मुद्दामा विशेष अदालतले यसअघि सुलभ अग्रवालसँग १ करोड ५० लाख रुपैयाँ र दीपक भट्टसँग १ करोड रुपैयाँ धरौटी माग गरेको थियो।

यद्यपि, दुवै व्यवसायी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर मा विशेष अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेकाले जिल्ला अदालतले अन्य मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिए पनि तत्काल थुनामुक्त हुने अवस्था भने छैन। सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा राख्ने आदेश कायम रहेकाले उनीहरू कारागारमै रहनेछन्।