काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयभित्रै मुलुकमा नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’को उद्घाटन गर्दै दाहालले जनताका मुद्दा निष्ठापूर्वक उठाउन सके प्रतिकूल परिस्थितिमा पनि जनसमर्थन प्राप्त हुने बताए।
तत्कालीन माओवादी जनयुद्धको स्मरण गर्दै उनले सुरुवाती दिनमा सीमित सङ्ख्यामा रहेका कार्यकर्ताबाट सुरु भएको आन्दोलन विस्तार हुँदै लाखौँ जनताको समर्थनमा पुगेको र अन्ततः मुलुकमा ऐतिहासिक राजनीतिक परिवर्तन सम्भव भएको बताए।
दाहालले आफ्नो पार्टीले इतिहासमा खेलेको भूमिका र विचारको महत्त्वलाई अवमूल्यन गर्न खोजिएको टिप्पणी गरे। माओवादी आन्दोलन र त्यसको ऐतिहासिक योगदानलाई कमजोर आँक्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उनले परिवर्तनका संवाहकलाई उपेक्षा गर्ने प्रयास सफल नहुने जिकिर गरे।
विचार, सिद्धान्त र बलिदानको जगलाई कसैले सजिलै मेटाउन नसक्ने भन्दै उनले इतिहासलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताए। पछिल्लो समय पार्टीप्रति भइरहेका आलोचना र टिप्पणीप्रति सङ्केत गर्दै उनले आफ्नो पार्टीले उठाउँदै आएका राजनीतिक मुद्दाको महत्त्व कायम रहने धारणा राखे।
दाहालले भने, ‘जनताका मुद्दा उठाउने र जनताकै निम्ति लड्ने हो भने अन्ततः जनताले साथ दिन्छन् भन्ने विश्वासका साथ हामी अघि बढ्यौँ। जनयुद्ध सुरु गर्दा हामी जम्मा ६० जना थियौँ। त्यही सङ्ख्या बढ्दै ६००, ६ हजार, ६ लाख हुँदै ६० लाखसम्म पुग्यो र अन्ततः नेपाल गणतन्त्र बन्यो। आज हाम्रो विचार र इतिहासमा खेलेको भूमिकालाई अवमूल्यन गर्ने प्रयास भइरहेको छ। तर हामीलाई विश्वास छ, केही समयपछि देशमा फेरि नयाँ परिस्थिति निर्माण हुनेछ।’
उनले जनताको हित र परिवर्तनका एजेन्डाप्रति प्रतिबद्ध रहेर अघि बढे निकट भविष्यमै पार्टीका लागि अनुकूल राजनीतिक वातावरण बन्ने विश्वाससमेत व्यक्त गरे।