काठमाडौँ । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी बिहीबार चीन भ्रमणमा जाने भएकी छन्। सक्रिय राजनीतिमा पुनरागमन गरेपछि उनको यो पहिलो विदेश भ्रमण हुन लागेको हो।
भण्डारीले अक्टोबर २३ देखि २५ सम्म चीनको हेबेई प्रान्तस्थित सियोङआनमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनका स्वकीय सचिव राजकुमार राईका अनुसार उनी फोरममा विशिष्ट अतिथिका रूपमा सहभागी हुन चीन जान लागेकी हुन्।
चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए) को आयोजनामा हुने उक्त फोरममा विभिन्न देशका राजनीतिक नेता, कूटनीतिज्ञ, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी हुनेछन्। आयोजक संस्थाले गत शुक्रबार दिएको जानकारीअनुसार ग्लोबल साउथ, युरोप र अमेरिकालगायत क्षेत्रका करिब १०० देशका प्रतिनिधिहरूले कार्यक्रममा सहभागिता जनाउने निश्चित भएको छ।
फोरममा बदलिँदो विश्व व्यवस्थाका बीच अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी बनाउने, विश्वव्यापी शासन प्रणालीमा सुधार गर्ने तथा साइबर क्षेत्र र अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौतीबारे छलफल हुनेछ।
त्यसैगरी, कृत्रिम बुद्धिमत्ता (एआई) को सुरक्षित प्रयोग र यससँग सम्बन्धित विश्वव्यापी नीतिगत विषय पनि छलफलका प्रमुख एजेन्डा रहनेछन्।
भण्डारीको यस भ्रमणलाई सक्रिय राजनीतिमा फर्किएपछिको पहिलो विदेश भ्रमणका रूपमा हेरिएको छ। अन्तर्राष्ट्रिय मञ्चमा उनको सहभागिताले विश्वव्यापी शासन, प्रविधि र अन्तर्राष्ट्रिय सहकार्यमाथि हुने छलफलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्नेछ।