जल तथा मौसमजन्य विपद् जोखिमको पूर्वसूचना नागरिकसम्म छिटो, सहज र प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता सम्पन्न भएको छ । बुधबार सम्पन्न सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठले हस्ताक्षर गरेका हुन।
सम्झौतापछि दुवै पक्षले विगतदेखि नै एसएमएसमार्फत मौसमजन्य विपद् सम्बन्धी पूर्वसूचना सेवा सञ्चालन हुँदै आएको उल्लेख गर्दै आवश्यक प्राविधिक विवरण तथा सेवा उपलब्ध गराउन एकअर्काप्रति आभार व्यक्त गरेका छन् । साथै, आगामी दिनमा पनि यो सेवा अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको छ । सम्झौता अनुसार देशभरका जोखिमयुक्त स्थानमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकलाई जल तथा मौसमजन्य विपद् सम्बन्धी पूर्वसूचना तथा आवश्यक जानकारी ११५५ सर्टकोडमार्फत एसएमएसद्वारा पठाइने छ । यसअन्तर्गत वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात तथा हिमआँधी, तातो हावाको लहर (लु), शीतलहर, धुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विस्फोट तथा डढेलोजस्ता प्रकोपको पूर्वसूचना प्रवाह गरिनेछ।
पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले नेपाल टेलिकमलाई विभिन्न नदी तटीय क्षेत्र तथा सम्भावित जोखिमयुक्त स्थानका एसएमएस पोलिगन (क्ःक् एयथिनयल) उपलब्ध गराउनेछ । यसमा पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली र महाकालीलगायतका नदी तटीय क्षेत्रका नक्सा, आकस्मिक बाढी सम्भावित क्षेत्रका फ्ल्यास फ्लड पोलिगन जिल्लागत तथा स्थानीय तहगत नक्सा र प्रकोपको प्रभाव क्षेत्र पहिचान गर्न आवश्यक अन्य नक्सा पनि समावेश हुनेछन्।
नेपाल टेलिकमले यो एसएमएस सेवा विगतदेखि नै निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । यसका लागि कम्पनीले यसअघि ७०० वटा डाटा सहितका सिम उपलब्ध गराएकोमा अब थप १०० वटा सिम उपलब्ध गराएर कुल ८०० वटा निःशुल्क सिम विभागलाई उपलब्ध गराउने भएको छ।
नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागको सहकार्यमा २०७३ सालदेखि नै मौसमजन्य विपद्को पूर्वसूचना एसएमएसमार्फत प्रवाह हुँदै आएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिरहेको यस सेवाबाट हालसम्म लाखौं नागरिक लाभान्वित भएको र आगामी दिनमा अझ बढी नागरिकले समयमै सूचना प्राप्त गरी सम्भावित विपद्बाट सुरक्षित हुन सक्ने अपेक्षा गरिएको छ।