काठमाडौं । नेपाली कांग्रेसभित्र पछिल्लो छ महिनादेखि चलिरहेको आन्तरिक विवाद अब समानान्तर गतिविधिको तहमा पुगेको छ। संस्थापन पक्ष र असन्तुष्ट इतर पक्षबीच सहमति नजुटेपछि असन्तुष्ट समूहले काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा ‘१५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय’ सञ्चालनमा ल्याएको छ। यसलाई आगामी महाधिवेशनको समानान्तर तयारीका रूपमा हेरिएको छ।
सोमबार उद्घाटन गरिएको कार्यालयबाट असन्तुष्ट पक्षले औपचारिक बैठकसमेत सुरु गरेको छ। तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित तर हाल पार्टी संरचनाबाहिर रहेका नेताहरू सहभागी भएका थिए। बैठकमा पूर्वसभापति शेरबहादुर देउवा र खड्का पक्षका तत्कालीन पदाधिकारी तथा केन्द्रीय सदस्यलाई पनि बोलाइएको थियो।
असन्तुष्ट पक्षले पार्टी नेतृत्वले आफ्ना माग बेवास्ता गरेको आरोप लगाउँदै अब समानान्तर बाटो रोज्न सक्ने संकेत दिएको छ। बैठकमा पूर्णबहादुर खड्काले डा. शेखर कोइरालासहित १११ जनालाई केन्द्रीय कार्यसमितिमा सम्मानजनक रूपमा समायोजन गर्नुपर्ने प्रस्ताव राखिएको जानकारी दिएका थिए। उनले आफू र शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव भने अस्वीकार गरिएको बताए।
बैठकपछि नेता मीनबहादुर विश्वकर्माले नेतृत्वले पार्टी एकताका लागि कुनै गम्भीर पहल नगरेको आरोप लगाए। उनले सहमति नभए १५औँ महाधिवेशन अलग–अलग हुन सक्ने र त्यसअघि राष्ट्रिय भेला बोलाएर थप निर्णय लिइने चेतावनी दिए।
नेता विमलेन्द्र निधिले पनि अहिलेसम्मका संवादबाट एकताको सम्भावना कमजोर देखिएको बताए। अन्तिमसम्म सहमतिको प्रयास गरिने भए पनि सहमति नभए राष्ट्रिय भेलाले आगामी बाटो तय गर्ने उनको भनाइ थियो।
खड्कानिकट केन्द्रीय सदस्य श्याम घिमिरेले राष्ट्रिय भेला बोलाइए पार्टी विभाजनतर्फ जान सक्ने चेतावनी दिँदै एक वा डेढ साताभित्र सहमति जुटाउनुपर्ने बताए। उनले यसको मुख्य जिम्मेवारी सभापति गगन थापाको काँधमा रहेको दाबी गरे।
असन्तुष्ट पक्षले आगामी साउन ६ गते बीपी कोइरालाको स्मृति दिवस विशेष रूपमा मनाउने र मंगलबारको बैठकबाट महाधिवेशन तयारीका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।
कांग्रेस नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बढ्दो ध्रुवीकरणप्रति चिन्ता व्यक्त गर्दै नेतृत्व तहमा इमान्दार र परिणाममुखी संवाद आवश्यक रहेको बताएका छन्।
उनले सार्वजनिक खपतका लागि मात्रै वार्ता गर्ने प्रवृत्तिले समस्या झन् जटिल बनाएको उल्लेख गर्दै सबै पक्ष एकै ठाउँमा बसेर सहमति खोज्नुपर्ने बताए। समायोजन, क्रियाशील सदस्यता र अन्य विवाद संवादबाटै समाधान गर्न सकिने उनको विश्वास छ।
देउवा–खड्का पक्षले समानान्तर गतिविधि अघि बढाइरहेका बेला डा. शेखर कोइराला भने ती कार्यक्रमबाट अलग देखिएका छन्। चैत १७ र १८ गतेको संयुक्त समीक्षात्मक बैठकपछि उनी देउवा–खड्का पक्षले आयोजना गरेका कुनै पनि बैठक वा भेलामा सहभागी भएका छैनन्।
कोइरालानिकट नेता बद्री पाण्डेका अनुसार उनी पार्टी एकताको पक्षमा मध्यमार्गी भूमिका निर्वाह गरिरहेका छन्। उनले असार २५ गतेसम्म सहमति जुटाउन समयसीमा दिँदै त्यसपछि समाधान नआए पार्टी विभाजनसम्म पुग्न सक्ने चेतावनी दिएका छन्।
कोइरालाले १४औँ महाधिवेशनका १११ जनालाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्न नसकिए दुवै पक्षको सहभागितामा महाधिवेशन तयारीका लागि शक्तिशाली संयन्त्र गठन गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन्। साथै निर्वाचन, सदस्यता छानबिन, अनुशासन र विधान संशोधन समितिमा दुवै पक्षको समान सहभागिता हुनुपर्ने उनको माग छ।
यता संस्थापन पक्षले भने १४औँ महाधिवेशन र विशेष महाधिवेशनबाट बनेका कार्यसमितिलाई पूर्ण रूपमा गाभ्ने माग अस्वीकार गर्दै आएको छ।
महामन्त्री गुरुराज घिमिरेले विधानअनुसार सभापतिलाई ६१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार रहेको र त्यसमध्ये १९ जनाको मनोनयन भइसकेको बताए। बाँकी ४२ स्थानमा मात्र केही नेतालाई समायोजन गर्न सकिने उनको भनाइ छ।
यद्यपि, महाधिवेशन तयारीका लागि सभापतिको नेतृत्वमा दुवै पक्षको सहभागितासहित संयन्त्र र विभिन्न समिति गठन गर्ने विषयमा भने सहमति सम्भव रहेको संकेत संस्थापन पक्षले दिएको छ।