शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

‘स्ट्यान्ड अलोन’ भ्रमणको कुटनीतिक शक्ति

सोमबार, बैशाख ७ २०८३

काठमाडौं । नेपालमा पहिलो पटक अमेरिकी उच्च अधिकारीको भ्रमणले निक्कै ठूलो महत्व र चर्चा पाउने निश्चित बनेको छ।

दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशी समीर पल कपुरले नेपाल भ्रमण गर्ने भएका छन्। सोमबारदेखि बुधबारसम्म उनको काठमाडौंमा विभिन्न उच्च पदस्तसँग भेट हुने सम्भावना रहेको उच्च स्रोतले जनाएको छ।

उनको यो भ्रमण अलिक फरक छ। उनी अमेरिकाबाट इन्तानबुल ट्रान्जिटमा रहेर काठमाडौंमा सिधा अवतरण (स्ट्यान्ड अलोन) गर्नेछन्। कपुरको यो भ्रमणको कुटनीतिक अर्थ रहेको बताइन्छ।

विगतमा अमेरिकी उच्च अधिकारीहरू प्रायः नयाँ दिल्ली, ढाका वा इस्लामावादको भ्रमण गर्ने क्रममा साइड ट्रिपका रूपमा नेपाल आउने गर्थे। तर, सहायक विदेशमन्त्री कपुर अमेरिकाबाट इस्तानबुल हुँदै सिधै काठमाडौँ आउनुले ‘नेपाल अब अमेरिकाको प्राथमिकतामा कुनै अर्को देशको पूरक नभई स्वतन्त्र अस्तित्वमा छ’ भन्ने बलियो कूटनीतिक सन्देश दिन्छ।
यसले वासिङ्गटनको कार्यसूचीमा नेपालको महत्त्व बढेको पुष्टि गर्छ।

बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आउन लागेका उनी हालसम्मकै उच्च अमेरिकी अधिकारी हुन्। यस भ्रमणले नेपालमा भएको लोकतान्त्रिक शक्ति सन्तुलन र नयाँ राजनीतिक उदयलाई अमेरिकाले नजिकबाट नियालिरहेको र सहकार्य गर्न आतुर रहेको संकेत गर्छ।

खासगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटले नयाँ सरकारको ‘आर्थिक कार्यदिशा’ र ‘सुशासन’का एजेन्डाहरूमा अमेरिकाले साझेदारी खोजेको देखिन्छ।

सहायक विदेशमन्त्री कपुर सामान्य कूटनीतिज्ञ मात्र नभई सुरक्षा मामिला र युद्ध कौशलका विज्ञ हुन्। नेभी पोष्ट ग्राजुएट स्कूलका प्रोफेसर रहिसकेका र दक्षिण एशियाको धरातलीय यथार्थ बुझेका कपुरको नियुक्ति र नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा ‘सुरक्षा’ र ‘रणनीतिक साझेदारी’ले नयाँ आयतन लिने देखिन्छ।

सलाई अमेरिकाको ‘इन्डो–प्यासिफिक रणनीति’ र यस क्षेत्रमा बढ्दो चिनियाँ प्रभावको सन्दर्भमा पनि विश्लेषण गर्न सकिन्छ।

अमेरिकी चासोको केन्द्रमा सधैँझैँ मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाको सफल र समयमै कार्यान्वयन रहेको छ। कपुरले अर्थमन्त्री वाग्लेसँग गर्ने छलफलमा यस परियोजनाको प्रगति र अन्य पूर्वाधार विकासमा अमेरिकी लगानी बढाउने विषयले प्राथमिकता पाउने निश्चित छ।