कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत लहान शाखा कार्यालयमार्फत लहान नगरपालिका वडा नं. ५ मा बसोबास गर्ने गरिब, दलित तथा अति विपन्न परिवारहरूलाई जाडोयाममा राहतस्वरूप फाइबर सिरक वितरण गरेको छ।
जाडोयामको चिसो बढेसँगै दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका समुदायलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख श्याम चवाईंले स्थानीय बासिन्दाहरूलाई फाइबर सिरक वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै मधेश प्रदेश प्रमुख चवाईंले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्ने यस्ता कार्यक्रमहरूले समुदायस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। “बैंकिङ सेवा मात्र नभई सामाजिक दायित्व पूरा गर्नु पनि हाम्रो प्राथमिकता हो। जाडोयाममा फाइबर सिरक वितरणले स्थानीय बासिन्दाहरूलाई प्रत्यक्ष रूपमा सहयोग पुग्ने अपेक्षा गरेका छौं,” उनले भने।
फाइबर सिरक प्राप्त गरेपछि स्थानीय बासिन्दाहरूले खुशी व्यक्त गर्दै जाडोको समयमा बैंकले गरेको यो मानवीय पहल अत्यन्तै सह्रानीय भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस सहयोगप्रति आभार प्रकट गर्दै कामना सेवा विकास बैंकलाई धन्यवाद ज्ञापन गरेका छन्।