बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपाल बीमा प्राधिकरणको आयोजनामा एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशनबारे अन्तरक्रिया

बिहिबार, पुष १७ २०८२

 

नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशनसम्बन्धी जानकारी प्रदान गर्ने, सरोकारवालाहरूका सुझाव संकलन गर्ने तथा यस प्रणालीमा आवद्ध हुन बैंक तथा वित्तीय संस्थाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राधिकरणले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२ अनुसार बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेको रकम प्राधिकरणको नाममा एयरमार्क गर्नुपर्ने व्यवस्था लागू भइसकेको जानकारी दिए। सोही व्यवस्थाअनुसार एयरमार्क प्रणाली सञ्चालनमा ल्याइएको उनको भनाइ थियो।

कार्यकारी निर्देशक सुवेदीले एयरमार्क प्रणालीले स्वचालित रूपमा सही विवरण मात्र स्वीकार गर्ने, त्रुटिपूर्ण विवरण अस्वीकार गर्ने र एयरमार्क प्लेटफर्ममार्फत बीमकलाई नै स्वचालित रूपमा फिर्ता पठाउने व्यवस्था रहेको उल्लेख गरे। “यसले बैंकबाट हुने मुद्दती निक्षेपको ब्लक तथा अनब्लक प्रक्रिया पूर्ण रूपमा स्वचालित बनाएको छ,” उनले भने।

एपीआई इन्टिग्रेशन प्रविधिको प्रयोगले बीमकहरूको मुद्दती निक्षेप लगानीसम्बन्धी प्रक्रिया छिटो, सरल र त्रुटिरहित हुने तथा बीमा नियमन, अनुगमन र निरीक्षण कार्य थप पारदर्शी र प्रभावकारी हुने विश्वास पनि उनले व्यक्त गरे।