काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकता सजिलो भए पनि त्यसलाई बलियो र जनमुखी संगठनमा रूपान्तरण गर्न निकै मेहनत, विचार र अनुशासन आवश्यक पर्ने बताएका छन् ।
बुधबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा नेता भीम रावल, प्रमोद नारायण यादव, प्रकाश शाहलगायत नेताहरू औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका अवसरमा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो धारणा राखेका हुन् ।
उनले भने, “एकता गर्न सजिलो हुन्छ, तर त्यसलाई बलियो बनाउन र जनताको विश्वास जित्ने संगठन बनाउन धेरै कुरामा विचार पुर्याउनुपर्छ ।” उनका अनुसार सच्चा एकता केवल नाम र संगठनको नभई विचार, नीति, व्यवहार र जनसेवाको प्रतिबद्धतामा आधारित हुनुपर्छ ।
नेपालले स्मरण गरे, “२०७५ साल जेठ ३ गते दुई ठूला कम्युनिस्ट पार्टी मिलेर नेकपा गठन भएको थियो । त्यसअघि २०७४ सालको चुनावमा जनताले झन्डै दुई तिहाइ मत दिए । त्यो जनादेश कम्युनिस्ट एकताको पक्षमा जनताको चाहना थियो ।” उनले थपे, “आज फेरि त्यही जनचाहनालाई बलियो बनाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।”
उनले नवगठित पार्टी गठनको सुरुवातसँगै केही पुराना कम्युनिस्ट नेताहरूमा असहजता देखिए पनि त्यो स्वाभाविक भएको बताए ।
उनका अनुसार, “विगतका कमजोरीहरूबाट सिक्दै, आत्मसमालोचना गर्दै, नयाँ सोच र क्रान्तिकारी आचरणसहित अघि बढ्न सक्यौं भने नेपाली कम्युनिस्ट पार्टी जनताको आशा र भरोसाको केन्द्र बन्नेछ ।”
अध्यक्ष नेपालले सबै नेतृवर्ग र कार्यकर्तालाई आत्मसुधार र अनुशासनमा जोड दिँदै भने, “कमजोरी छन् भने सुधार्ने सङ्कल्प गरौँ । सङ्कल्प गरेर व्यवहारमा उतार्नुभयो भने तपाईंहरूले यो पार्टीलाई जनताको पक्षमा ठूला उपलब्धि दिलाउनु हुनेछ । तर पुरानै गल्ती दोहोर्याइयो भने मूल्य र जनविश्वास दुबै गुम्छ ।”
उनले अन्त्यमा भने, “हामी सबैले पार्टी एकता, विचारको स्पष्टता र जनसेवाको संकल्पलाई जोड दिन सकेमा यो पार्टी सच्चा अर्थमा जनताको पार्टी बन्नेछ । नेपाललाई स्थायित्व, समृद्धि र समाजवादको बाटोमा अघि बढाउने अग्रपंक्तिको शक्ति बन्नेछ ।”