काठमाडौँ । सहरी विकास मन्त्रालयले सत्तारूढ कांग्रेसको भ्रातृसंस्था तरुण दलको भवन निर्माणका लागि तीन करोड रुपैयाँ छुट्याएको छ ।
काठमाडौं महानगरपालिका वडा नं १३ स्थित रवि भवन नजिककै जग्गामा ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा सरकारले आगामी आर्थिक वर्षको बजेटबाट तरुण दलको भवन बनाउन बजेट विनियोजन गरेको हो ।
मन्त्रालयले गणेशमान स्मृति भनवको नाममा बजेट विनियोजन गरेको भए पनि यो तरुण दलको भवन भएको खुलेको छ ।
बजेट विनियोजन गरेकामा वक्तव्य जारी गर्दै अध्यक्ष विद्वान गुरुङले पार्टीका सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री सिंहलाई धन्यवाद ज्ञापन गरेका छन् ।
समाजसेवी मैयादेवी श्रेष्ठले कांग्रेसको केन्द्रीय कार्यालयका लागि रवि भवननजिकै दिएको १८ आना जग्गामा तरुण दलले भवन निर्माणको तयारी गरेको हो । नयाँ भवनको नक्सा तयार भइसकेको तरुण दलका अध्यक्ष गुरुङले जानकारी दिए ।
सत्तारूढ दलको भ्रातृसंस्थालाई बजेट दिइएको विषयमा सार्वजनिक आलोचना सुरु भए पनि सहरी विकास मन्त्रालयले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।