काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)बीच आज एकता हुने भएको छ ।
ललिपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे माओवादी केन्द्र र नेसपाबीच एकता घोषणा कार्यक्रम राखिएको छ ।
एकता घोषणा कार्यक्रमलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताले सम्बोधन गर्नेछन् ।
पूर्वसहमतिअनुसार माओवादी केन्द्रसँग एकता गर्नबाट तत्कालीन अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि श्रेष्ठ एकताको प्रक्रियामा अघि बढेका हुन् ।
बाबुराम भट्टराईबाट महिन्द्र राय यादव र श्रेष्ठ अलग्गिएकामा आइतबार सहअध्यक्ष श्रेष्ठले केन्द्रीय समिति पुनर्गठन गरी नेतृत्व आफ्नो हातमा लिएका थिए । गत निर्वाचनमा यादव नेतृत्वको नेसपाका उम्मेदवार माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचन लडेका थिए । त्यतिबेलै दुई दलबीच पार्टी एकताको सहमति भएको थियो ।
गत चैत ३ गते माओवादी केन्द्र र नेसपा पार्टी एकता संयोजन समितिको संयुक्त बैठकले गरेको तीन बुँदे निर्णयको आधारमा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको हो । २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना श्रेष्ठको पक्षमा उभिएका छन् ।
त्यस्तै, १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना केन्द्रीय सदस्य एकताको पक्षमा उभिएको श्रेष्ठको दावी छ ।