बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कोशी लगानी सम्मेलन आजदेखि, प्रधानमन्त्रीले उद्‌घाटन गर्ने

बिहिबार, बैशाख १८ २०८२

विराटनगर । कोशी प्रदेश सरकारको लगानी सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा विभिन्न ७१ वटा परियोजना प्रस्तुत गरिने प्रदेश लगानी प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले लगानी सम्मेलनकै क्रममा दुई दर्जनभन्दा बढी परियोजनामा सम्झौता (एमओयू) हुने जानकारी दिए । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, सूचना प्रविधिलगायत क्षेत्रहरू छन् ।

यस सम्मेलनले यहाँ लगानीको वातावरण बनाउन सहयोग पुग्ने भन्दै व्यवसायीहरू उत्साहित भएका छन् ।

प्राकृतिक सम्पदा, उत्पादन, आय र रोजगारीका असीमित सम्भावना र रणनीतिक अवस्थितिका कारण यो प्रदेशलाई नेपालकै अर्थतन्त्रको मेरुदण्डका रूपमा हेर्न गरिएको छ । सगरमाथाको काखदेखी तराईको उर्वर भूमिसम्म फैलिएको प्रदेशमा लगानी सम्मेलनले कृषि, पर्यटन, जलविद्युत् र औद्योगिक विकासका क्षेत्रमा लगानीको स्वर्णिम अवसर प्रदान गर्ने व्यवसायीहरूको बुझाइ छ ।

कोभिड १९ पछि थलिएको क्षेत्रलाई सम्मेलनले उत्साह ल्याएको व्यवासायीहरूको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत सम्मेलनले समग्र निजी क्षेत्रमा उत्साह ल्याएको बताउँछन् । सम्मेलनमार्फत बन्ने लगानीको वातावरणले कोशीको आर्थिक पुनरोत्थान मात्र नभई समग्र नेपालको समृद्धिको आधार तयार उनको विश्वास छ ।

नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशका अध्यक्ष पवनकुमार शारदा पनि बिहीबारदेखि हुने लगानी सम्मेलनले शिथिल अवस्थामा रहेको व्यवसाय क्षेत्रलाई चलायमान बनाउने आशा व्यक्त गर्छन् । राज्यले हाल भइरहेका समस्या समाधानका लागि पहल गर्ने र व्यवसायीका कुरा कुरा सुन्छ भनेर आफूहरू उत्साहित भएको उनको भनाइ छ ।

बुधबार विराटनगरमा भएको पत्रकार सम्मेलनमा प्रदेश सरकारले लगानी सम्मेलनमा एक खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरका ७१ वटा परियोजनाहरू सोकेसिङ गर्ने उल्लेख गरेपछि व्यवसायी थप उत्साहित भएका छन् । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, सूचना प्रविधिलगायत क्षेत्रहरू छन् ।

लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले लगानी सम्मेलनकै क्रममा दुई दर्जनभन्दा बढी परियोजनामा सम्झौता (एमओयु) हुने जानकारी दिएका छन् ।

सम्मेलनमा कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावनाका विषयमा छलफल हुनेछ ।

साथै, पहिलो दिनको मुख्यसत्रमा कोशी प्रदेशका हकमा लगानीमैत्री वातावरण र तीन तहका सरकारहरू बीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरू र जनप्रतिनिधिहरूबाट धारणा प्रस्तुत हुने आयोजकले जनाएको छ ।