शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव

शुक्रबार, कार्तिक १३ २०८३

काठमाडौं । प्राकृतिक विपद्का कारण विस्थापित भएका प्रहरी चौकीहरूको पुनःस्थापना कार्यलाई तिब्रता दिइएको छ ।

रसुवा बाढी-पहिरो प्रभावित क्षेत्रमा शान्ति सुरक्षा, अमनचयन कायम राख्न तथा विपद्मा बेपत्ता नागरिकहरूको खोजी कार्यलाई निरन्तरता दिन स्थानीयस्तरमा प्रहरी युनिटहरू पुनः सञ्चालनमा ल्याउन थालिएको हो । संसदको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा सुरक्षा निकायका अधिकारीहरूले प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् ।

बैठकमा बोल्दै नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको दैनिक सुरक्षा र उद्धारलाई प्रभावकारी बनाउन स्थानीयस्तरमै प्रहरीको स्थायी उपस्थिति अपरिहार्य रहेको बताए । विपद्का कारण यसअघि बस्न नसकेर खाली गरिएको रसुवाको हाकुस्थित प्रहरी चौकी पुनःस्थापना भइसकेको छ ।

यस्तै, स्याफ्रुबेसीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा सुरक्षा युनिट पुनर्गठन गरिएको छ भने बेत्रावती र तिमुरे लगायतका संवेदनशील क्षेत्रहरूमा पनि सुरक्षा उपस्थिति बलियो बनाइएको छ । यद्यपि, क्षतिग्रस्त भएका चौकीहरूको स्थायी संरचना निर्माणका लागि उपयुक्त जग्गा पहिचान गर्न अझै चुनौती रहेको बताउ ।

विपद्मा परी पुरिएका वा बेपत्ता भएका व्यक्तिहरूको खोजतलास नियमित रूपमा जारी राखिएको उहाँले जानकारी दिनुभयो । जमिनमुनि करिव डेढ मिटरसम्म रहेका शव पहिचान गर्नसक्ने आधुनिक उपकरणको अभाव हुँदा उद्धार टोलीले म्यानुअल ९परम्परागत० उपायहरूकै भर पर्नुपरेको छ ।

आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकहरूको खोजी कार्य थप चुनौतीपूर्ण र समय लाग्ने खालको बनेको अधिकारीहरूको भनाइ छ । नागरिकलाई दैनिक शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन र सम्भावित जोखिम न्यूनीकरण गर्न स्थानीय तहमै प्रहरी चौकीहरू व्यवस्थित गर्नुपर्ने भएकाले जग्गा प्राप्ति तथा पूर्वाधार निर्माणलाई छिटो टुंग्याउन पहल भइरहेको प्रहरीले जनाएको छ ।