बैंक तथा फाईनान्स कम्पनीहरुको कुल कर्जा लगानी ५४ खर्ब नाघ्यो
काठमाडौं । बैंकिङ क्षेत्रको कुल निष्क्रिय कर्जा रकम झण्डै पाँच प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो सात महिनाको अवधिसम्ममा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका कुल ५४ वटा संस्थाहरुले ६७ खर्ब ३१ अर्ब ७९ करोड रुपैंयाँ निक्षेप संकलन गरी ५४ खर्ब ३३ अर्ब ४३ करोड ७० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा चार दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय देखिएको हो ।
गत आवको सोही अवधिमा भने बैंक तथा फाईनान्स कम्पनीहरुले ६१ खर्ब ५३ अर्ब १५ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब ८३ अर्ब ६५ करोड ९० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा तीन दशमलव ७३ प्रतिशत मात्र कर्जा निष्क्रिय देखिएको थियो । राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो सात महिनाको अवधिमा बाँणिज्य बैकहरुले मात्र कुल ६० खर्ब एक अर्ब ६१ करोड ५० लाख रुपैंयाँ निक्षेप संकलन गरी ४८ खर्ब १८ अर्ब ४४ करोड ७० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा चार दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने बाँणिज्य बैंकहरुले ५४ खर्ब ४३ अर्ब १४ करोड ८० लाख रुपैंयाँ निक्षेप संकलन गरी ४४ खर्ब ९२ करोड ९७ लाख ३० हजार रुपैंयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
बिकास बैंकहरुले भने चालु आर्थिक बर्षको पछिल्लो सात महिनाको अवधिमा छ खर्ब तीन अर्ब ५१ करोड ५० लाख रुपैंयाँ निक्षेप संकलन गरी पाँच खर्ब १३ अर्ब ४३ करोड रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा पाँच दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने बिकास बैकहरुले पाँच खर्ब ८९ अर्ब २९ करोड रुपैंयाँ निक्षेप संकलन गरी चार खर्ब ९५ अर्ब ६२ करोड ५० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा तीन दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो सात महिनामा फाईनान्स कम्पनीहरुमा भने १२ दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । फाईनान्स कम्पनीहरुले उक्त अवधिमा एक खर्ब २६ अर्ब ६६ करोड रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ५५ करोड ९० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा उक्त परिमाणमा कर्जा निष्क्रिय देखिएको हो । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुले एक खर्ब २० अर्ब ७२ करोड १० लाख रुपैंयाँ निक्षेप संकलन गरी ९५ अर्ब छ करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा नौं दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । राष्ट्र बैकका अनुसार बैंक तथा फाईनान्स कम्पनीहरुमा पछिल्लो समय बढेको निष्क्रिय कर्जाले बैंकको खुद मुनाफा प्रभावित हुने देखिन्छ । चालु आवको दोस्रो त्रैमासमा बैंक तथा फाईनान्स कम्पनीहरुको खुद मुनाफा सन्तोषजनक अवस्थामा रहेपनि चालु आवको तेस्रो त्रैमास अर्थात चैत्र मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणमा भने अधिकांश बैंक तथा फाईनान्स कम्पनीहरुमा निष्क्रिय कर्जा अझै बढ्ने देखिन्छ भने खुद मुनाफा यसअघिको त्रैमासको तुलनामा कम हुने देखिन्छ ।