काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत अन्तिम साता सकिदै छ । २०७६ चैत २४ गते नेपाल राष्ट्र बैंकको सत्रौ गभर्नरका रुपमा नियुक्त भएका अधिकारी आफ्नो ५ बर्षे कार्यकाल सकेर यहि चैत अन्तिम साता विदा हुँदै छन् ।
गभर्नर अधिकारीको कार्यकाल सकिन अब डेढ महिना मात्रै बाँकी छ । कानुन अनुसार कार्यकाल सकिनु भन्दा एक महिना अगावै विदा बस्न सक्ने प्रवधान छ । त्यो प्रवधान अनुसार गभर्नर अधिकारी विदामा बसेको खण्डमा अधिकारीले अब दुई साता मात्रै राष्ट्र बैंकको गभर्नरको नेतृत्व सम्हाल्ने छन् ।
नेपाली कांग्रेस र एमाले गठबन्धनको सरकार भएकाले नयाँ गभर्नरमा दुई दलनिकटकै आकांक्षी आउने अनुमान गरिए पनि टुंगो भने लागिसकेको छैन । नयाँ गभर्नर राष्ट्र बैंक भित्रैबाट वा बाहिरबाट पनि नियुक्त हुनसक्ने व्यवस्था रहेको छ ।
हालसम्म १८औँ गभर्नरका लागि डेपुटी गभर्नर डा नीलम ढुंगाना, डेपुटी गभर्नर बमबहादुर मिश्र, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणकर भट्ट, राष्ट्र बैंकको कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ, पूर्वअर्थसचिवहरू रामेश्वर खनाल, लालशंकर घिमिरे, पूर्वडेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, राष्ट्र बैंकका पूर्वनिर्देशक ज्ञानेन्द्रप्रसाद ढुंगाना, पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल, लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, बैंकर राजनसिंह भण्डारी लगायतका पात्र चर्चामा छन् ।
राष्ट्र बैंक ऐन, २०५९ अनुसार, मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको नेतृत्वमा एउटा सिफारिश समिति गठन गर्छ । समितिमा पूर्वगभर्नर मध्येबाट एकजना र आर्थिक, मौद्रिक, वित्तीय तथा व्यवस्थापन क्षेत्रका विज्ञमध्येबाट एकजना सदस्य रहने व्यवस्था रहेको छ । समितिले गभर्नरका नियुक्ति लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुनका उपलब्ध प्रतिष्ठित व्यक्ति तथा डेपुटी गभर्नरमध्येबाट तीन जनाको नामावली मन्त्रिपरिषद्मा सिफारिश गर्नुपर्छ । तीमध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर पदमा नियुक्त गर्ने व्यवस्था छ । तर, यसमा सिफारिश समितिभन्दा पनि शक्तिकेन्द्रको निर्णय नै अन्तिम हुने भएकाले विभिन्न अड्कलबाजी सुरु भएको छ ।
राष्ट्र बैंकको गभर्नर कसलाई नियुक्त गर्ने भन्नेमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख आर्थीक सल्लाहकार समेत रहेका पूर्व अर्थमन्त्री एवं नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडा, कांग्रेस सभापति शेरवहादुर देउवा र परराष्ट्रमन्त्री आरजु देउवा घोषित अघोषित शक्ति केन्द्र हुन् ।
राष्ट्र बैंकका गभर्नरका लागि आकांक्षीहरुले पनि पार्टीगत निकटताको आधारमा यी शक्ति केन्द्रहरुसँग भावी गर्भनरका लागि लभिङ सुरु गरिसकेका छन ।