काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातालमा पूर्णिमा रानाले आफ्ना दुई छोरीको हत्या गरेको स्वीकार गरेकी छन् । प्रारम्भिक सोधपुछको क्रममा पूर्णिमाले छोरीहरुको हत्या स्वीकार गरेको सल्यान प्रहरीले जनाएको छ ।
अन्दाजी साढे ३ बर्षकी करिस्मा राना र ६ महिनाकी राधबी राना बुधबार आफ्नै घरमै मृत भेटिएका थिए। घरमा आमाछोरी मात्रै बस्दै आएका थिए भने बाबु टेकमान रोजगारीको शिलशिलामा जिल्ला बाहिर थिए ।
पूर्णिमा अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन् । उनीविरुद्ध जाहेरी दर्ता भएपछि औपचारिक रुपमा बयान लिने लगायतका प्रक्रिया अघि बढ्ने छ ।
घटनाको प्रकृति हेर्दा नै प्रहरीले आमामाथि शंका गरेको थियो । निकैबेर सोधपुछ पछिमात्र उनले पारिवारिक तनावका कारण छोरीहरुलाई घाँटी थिचेर मारेको बताएकी थिइन् । प्रहरीका अनुसार उनी आफैंले आत्महत्याको प्रयास समेत गरेकी थिइन् ।