मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

आज हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मंगलबार, कार्तिक २४ २०८३

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने भएको छ । केही हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै, आज राति हिमाली भूभागमा आंशिक बदली रहने र देशका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

यसैबीच, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।