काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त गराएर सुरु गरेको नेपाल संवत् नेपालको मौलिक समयचक्र र राष्ट्रिय पहिचान भएको बताएका छन् ।
उनले नेवार समुदायले मनाउने म्हः पूजाको सांस्कृतिक तथा आध्यात्मिक महत्त्व उल्लेख गर्दै यसले आत्मशुद्धि, चेतनाको बोध, आपसी सद्भाव र सामाजिक एकतालाई प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै, गोवर्धन पूजाका अवसरमा गोरु तथा कृषि औजारको पूजा गर्ने परम्पराले नेपालको कृषि संस्कृतिको महत्त्व झल्काउने उनले बताएका छन् ।
देउसीभैलोले छरछिमेकमा आत्मीयता र सद्भाव बढाउने उल्लेख गर्दै प्रधानमन्त्री शाहले मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन योगदान पुर्याउने बताएका छन् ।
प्रधानमन्त्री शाहले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन् ।