काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन् । अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले समेटिएका हुन् ।
नेपालमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम र त्यसबाट भएको क्षतिबारे अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउँदै आएका वाग्लेले जलवायु न्यायका पक्षमा गरेको पैरवीका कारण सूचीमा स्थान पाएको टाइमले जनाएको छ ।
गत अगस्टमा नेपालमा आएको विनाशकारी बाढीपछि वाग्लेले जलवायु परिवर्तनमा न्यून योगदान भए पनि नेपालजस्ता विकासशील मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाएका थिए ।
नेपालले जलवायुजन्य विपद्बाट भएको क्षतिबापत चीन, अमेरिका र भारतसँग क्षतिपूर्तिको माग गर्दै कूटनीतिक पहलसमेत गरेको थियो । बाढीपछिको पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन वाग्लेले अन्तर्राष्ट्रिय जलवायु वित्त तथा नोक्सानी र क्षति कोष परिचालनमा जोड दिँदै आएका छन् ।
टाइमका अनुसार संयुक्त राष्ट्रसंघले गत अक्टोबर २२ मा नेपालका लागि नोक्सानी तथा क्षति कोषबाट २१.६ मिलियन अमेरिकी डलर सहायता उपलब्ध गराउने प्रस्तावलाई प्रारम्भिक स्वीकृति दिएको थियो ।
टाइमको प्रभावशाली जलवायु नेताहरूको सूचीमा वाग्ले समेटिनुलाई नेपालको जलवायु जोखिम, जलवायु न्याय र अन्तर्राष्ट्रिय क्षतिपूर्तिको मुद्दाले विश्वव्यापी चर्चा पाएको घटनाका रूपमा हेरिएको छ ।
यस वर्षको सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायतका राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनलगायत व्यक्तित्व पनि समावेश छन् ।