आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कप्तान पूजाको अलराउण्ड प्रदर्शनमा कुवेतविरुद्ध नेपालको सानदार जित

मंगलबार, कार्तिक २७ २०८१

काठमाडौं । कप्तान पूजाको अलराउण्ड प्रदर्शनमा कुवेतविरुद्ध नेपालले सानदार जित निकालेको छ। यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालले कुवेतलाई १ सय ६५ रनको फराकिलो अन्तरले हराएको हो।

मंगलबार दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले कप्तान पूजा महतोको सानदार शतकमा २ विकेट गुमाएर २१३ रन बनाएको थियो।

तेस्रो विकेटका लागि पूजा र सोनी पाख्रिनबीच केवल ८४ बलमा १५७ रनको साझेदारी गरेका थिए । यू- १९ महिला क्रिकेटमा यो सबैभन्दा ठूलो साझेदारीको रेकर्ड हो ।

पूजाले ६९ बलमा १२३ रनको ऐतिहासिक इनिङ खेलिन् । नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर हो । यसअघि सिनियर टिमबाट एक मात्र शतक रुबिना क्षेत्रीको नाममा थियो ।

उनले २९ बलमा अर्धसतक र ५७ बलमा सतक प्रहार गरेकी थिइन् । पूजालाई साथ दिएकी सोनीले ३३ बलमा ४३ रन बनाएर अविजित रहिन् । उनले दुई चौका प्रहार गरेकी थिइन् ।

कुवेतकी जिफा जिलानी र रेलिन मारिया डी सोउजाले एकरएक विकेट लिए ।

जवाफी ब्याटिङ गरेको कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी कप्तान महतोले ४ ओभरमा एक मेडन राख्दै ८ रन दिएर ५ विकेट लिइन् । नेपालकी रचना कुमारी र सीमाना केसीले दुई/दुई विकेट लिए ।

कुवेतकी जीफा जिलानीले ३६ रन बनाउनबाहेक अरु कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन्।

प्रतियोगितामा पाँचमध्ये ४ खेल जितेको नेपालले यसअघि यूएईसँग मात्रै पराजित भएको छ । अब यूएईसँग बुधबार अन्तिम खेल खेल्ने छ ।

चार टोली सहभागी छनोट प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ र शीर्ष स्थानमा रहने टोली मात्र यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।