बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सात खर्ब ४२ अर्बले बढ्यो बैंकिङ क्षेत्रको निक्षेप

६६ दशमलव पाँच प्रतिशत कर्जा घर जग्गाको धितोमा प्रवाह

सोमबार, भाद्र २४ २०८१

काठमाडौं । पछिल्लो एक बर्षमा बैंकिङ क्षेत्रको कुल निक्षेप साँढे सात खर्ब रुपैंयाँले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक बर्ष २०८०÷०८१ मा बैंकिङ क्षेत्रको कुल निक्षेप रकम १३ प्रतिशत अर्थात सात खर्ब ४२ अर्ब ३७ करोड रुपैंयाँले बढेको हो । अघिल्लो वर्ष यस्तो निक्षेप १२ दशमलव तीन प्रतिशत अर्थात छ खर्ब २७ अर्ब २५ करोड रुपैंयाँले बढेको थियो।

२०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः पाँच दशमलव आठ प्रतिशत, ३० दशमलव तीन प्रतिशत र ५६ दशमलव चार प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः सात दशमलव सात प्रतिशत, २६ दशमलव छ प्रतिशत र ५८ दशमलव नौं प्रतिशत रहेको थियो । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ दशमलव दुई प्रतिशत रहेको छ । २०८० असार मसान्तमा यस्तो निक्षेपको अंश ३६ दशमलव छ प्रतिशत रहेको थियो।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रकम भने पाँच दशमलव आठ प्रतिशत अर्थात दुई खर्ब ७६ अर्ब ९४ करोड रुपैंयाँले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा तीन दशमलव आठ प्रतिशत अर्थात एक खर्ब ७५ अर्ब ९४ करोड रुपैंयाँले बढेको थियो । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव तीन प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६२ दशमलव सात प्रतिशत र ३७ दशमलव तीन प्रतिशत रहेको थियो । समीक्षा वर्षमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह पाँच दशमलव आठ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह पाँच प्रतिशतले र फाईनान्स कम्पनीहरुको सात दशमलव सात प्रतिशतले बढेको छ।

राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा बैंक तथा फाईनान्स कम्पनीहरुको लगानीमा रहेको कर्जा मध्ये ६६ दशमलव पाँच प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३ दशमलव दुई प्रतिशत कर्जा चालु सम्पति अर्थात कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०८० असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६८ प्रतिशत र ११ दशमलव छ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा शुन्य दशमलव नौं प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा आठ दशमलव आठ प्रतिशतले, यातायात र संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १६ दशमलव सात प्रतिशतले बढेको छ । यसैगरी थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा एक दशमलव पाँच प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा छ दशमलव दुई प्रतिशतले बढेको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २२ दशमलव दुई प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) नौं दशमलव छ प्रतिशतले बढेको छ । यस अवधिमा मार्जिन प्रकृति कर्जा १८ दशमलव एक प्रतिशतले र ट्रष्ट रिसिट अर्थात आयात कर्जा १२ दशमलव छ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकका अनुसार आव २०८०÷८१ मा हायर पर्चेज कर्जा २२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ४६ दशमलव तीन प्रतिशतले र डिमान्ड तथा चालु पँुजी कर्जा १७ दशमलव छ प्रतिशतले घटेको देखिएको छ।