बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

स्वयमसेवक उद्धारक डिजास्टर रेस्पोन्स तालिम संचालन

सोमबार, भाद्र १७ २०८१

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा भाद्र १६ गतेदेखि स्वयमसेवक उद्धारक डिजास्टर रेस्पोन्स तालिम संचालन भएको छ।

बर्तमान सरकार गठन भएको एक सय दिनको अवधिमा जिम्मेवारी र कार्यक्षेत्र भित्रका ठाउँहरुमा सम्पादन गर्नेसक्ने कार्ययोजना अन्तर्गत सशस्त्र प्रहरी बल नेपालले विभिन्न स्कुल/कलेजमा अध्ययनरत ५ सय जना बिद्यार्थीहरुलाई तालिम दिई उनीहरुलाई प्रशिक्षक तथा स्वयंमसेवक तयार गर्ने योजनाकासाथ तालिम संचालन गरिएको हो।

विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेल र प्रगती पाठशाला कुरिनटारका प्रधानाध्यापक टंक त्रिपाठीले तालिम संयुक्त रुपमा समुद्घाटन गर्नुभएको हो।

प्रगती पाठशाला चितवन कुरिनटारमा कक्षा ८, ९, ११ र १२ मा अध्ययनरत ९३ जना छात्र÷छात्राहरु सहभागी भएका सो तालिम निकट भविष्यमा सशस्त्र प्रहरी बल नेपालका आठवटै बाहिनी मुख्यालयहरुमा समेत संचालन गरिने योजना रहेको छ।

भाद्र १८ गतेसम्म संचालन हुने तालिममा विपद्को परिचय, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, मेडिकल फस्ट रेस्पोण्डर, कोल्याप्स्ड स्टक्चर सर्च एण्ड रेस्क्यु, पानीभित्र गरिने उद्धार प्रविधि, आगलागी, बाढी, पहिरो भुकम्प लगायतका विषयहरु समाबेश गरी प्रशिक्षण गराईने छ।

तालिम शिक्षालयले स्थापना कालदेखि नै विभिन्न सरोकारवाला निकायहरुको समन्वय र सहकार्यमा नेपाल प्रहरी, निजामती सेवाका कर्मचारीहरु लगायत अन्य संघसंस्थाहरुलाई समेत विपद् व्यवस्थापन प्रतिकार्य तालिम तथा अभ्यासहरु गराउँदै आईरहेको छ।