आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

राष्ट्र बैंकद्धारा ‘प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ सार्वजनिक

शुक्रबार, भाद्र १४ २०८१

काठमााडौं । नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८० सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी आवश्यक तथ्यांक संकलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त प्रतिवेदन सार्वजनिक गरेको जानकारी दिएको छ।

आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल दुई सय ३८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/०८०’ तयार पारिएको हो, राष्ट्र बैंकले भनेको छ । सर्वेक्षणबाट प्राप्त नतिजा अनुसार नेपालमा आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११ दशमलव आठ प्रतिशतले वृद्धि भई दुई खर्ब ९५ अर्ब ५० करोड कायम रहेको छ । कुल वैदेशिक लगानी मध्ये चुक्ता पुँजीको अंश ५२ दशमलव आठ प्रतिशत, सञ्चिति ३३ दशमलव सात प्रतिशत र कर्जाको अंश १३ दशमलव पाँच प्रतिशत रहेको छ।

प्रतिवेदन अनुसार २०८० असार मसान्तसम्ममा नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् एक खर्ब तीन अर्ब ४५ करोड अर्थात ३५ प्र्रतिशत र त्यसपछि क्रमशः चीनबाट ३५ अर्ब ४६ करोड अर्थात १२ प्रतिशत रहेको छ । यि बाहेक आयरल्याण्डबाट २२ अर्ब ६२ करोड अर्थात सात दशमलव सात प्रतिशत, अष्ट्रेलियाबाट १९ अर्ब छ करोड अर्थात छ दशमलव चार प्रतिशत र सिङ्गापुरबाट १८ अर्ब ८१ करोड अर्थात छ दशमलव चार प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९ दशमलव सात प्रतिशत औद्योगिक क्षेत्रमा र ४० दशमलव दुई प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९ दशमलव चार प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ।

यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ । प्रदेशगत आधारमा नेपालमा रहेका प्रत्यक्ष लगानी मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५९ दशमलव सात प्रतिशत रहेको देखिन्छ । त्यसपछि क्रमशः गण्डकी प्रदेशमा १५ दशमलव एक प्रतिशत, कोशी प्रदेशमा १४ दशलमलव सात प्रतिशत, मधेश प्रदेशमा आठ दशमलव आठ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको देखिन्छ।

वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरुको क्षमता उपयोग ६० दशमलव ६९ प्रतिशत रहेको छ । इक्विटीको प्रतिफल भने करिब ११ दशमलव ६१ प्रतिशत रहेको छ।