आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

शुक्रबार, भाद्र १४ २०८१

काठमाडौं । मोरङको बिराटनगर महानगरपालिका–१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम २८ मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय तिलक यादव र भारत बिहार बस्ने २१ वर्षीय बिशाल कुमार साह रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२५ प २११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २९ ग्राम सहित दाङ बबई गाउँपालिका–२ बस्ने २४ वर्षीय दिपक बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी बाँकेको कोहलपुर नगरपालिका–६ रझेना बस्ने २१ वर्षीय बिपिन वलीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरेमाईबाट अवैध लागूऔषध गाँजा २५ किलोग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका–४ बस्ने २१ वर्षीय सुसिल बल र ३२ वर्षीय हिमाल ब्लोन रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.१४ च ३८५५ नम्बरको बलेरो जिपलाई जाँच गर्ने क्रममा बर्नटमा लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी बलेरो चालक सुसिल र बलेरोमा सवार हिमाललाई पक्राउ गरेको हो।

सुनसरीको धरान उपमहानगरपालिका–१७ ठकुरी पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम २ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय रोशन राईलाई बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।