काठमाडौं । गृह मन्त्रालय मातहतको नेपाल प्रहरी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्तल अध्यागमन कार्यालयका कर्मचारीबीचको टकराबको अन्तरकथा तीन दशक लामो रहेको बताइएको छ । २०८० माघ महिनामा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीको बिचमा परेको हातहालाहालको स्थितिले धेरै विषय सतहमा आएको बताइन्छ । ‘भिजिट भिसा’ प्रकरणका कारण विमानस्थलमा रहेका सरकारी निकायहरू बिचको तिक्तताले धेरै कुरा छत्ताछुल्ल पारिदिएको छ ।
पहिलेदेखि नै गृह मातहतका निकायका बिचमा विवाद रहेको र त्यो भित्रभित्रै हुर्किरहेको थियो । विमानस्थल अध्यागमा कार्यालयले दैनिक १४ हजारदेखि २१ हजारसम्मलाई सेवा प्रदान गर्दै आएको स्रोतले बताएको छ । यही आँकडालाई आधार मान्दा पनि अध्यागमन डेस्कमा बस्ने एक अधिकृतले दैनिक २ सय ४० जनासम्मलाई सामान्य जाँच गरेर मात्र प्रस्थान अनुमति दिनुपर्ने बाध्यता रहेको बताइन्छ ।
अध्यागमन कार्यालयमा हाल १ सय ८० जना कर्मचारीको दरबन्दी रहेको छ । त्यसमध्ये १ सय २६ जना अधिकृतको दरबन्दी रहेको भएपनि ३५ पद रिक्त रहेको स्रोतले जानकारी दिएको छ । हाल भएका कर्मचारीले अतिरिक्त समयमा सेवा गर्दा पनि थप सेवा सुविधा नपाएको गुनासो गर्दै आएका छन । भिजिट भिसामा जानेहरूलाई प्रस्थान अनुमति दिँदा अनेकौ कागजपत्र अध्ययन गर्नुपर्ने जिम्मेवारी कर्मचारी काँधमा रहेको छ । त्यो पनि छोटो समयमा हेरेर प्रक्रिया पूरा गर्नुपर्ने बाध्यताका कारण केही तलमाथि परेको हुनसक्ने कर्मचारी बताउँछन् ।
गृह मन्त्रालयले पर्याप्त कर्मचारी, उपकरण र प्रविधि उपलब्ध नगराएको गुनासो पीडित कर्मचारीले गरेका छन् । त्यसमा पनि आफ्नो क्षेत्राधिकारमा विमानस्थल प्रहरीले हस्तक्षेप गरेको कारण गत महिना अप्रिय घटना घटन पुगेको कर्मचारीको भनाई रहेको छ । प्रहरीले विना अधिकार र कानूनी धरातल बिर्सेर विमानस्थलमै राहदानी, भिसा, बैंक स्टेटमेन्ट, नाता प्रमाणित जस्ता कागजात जाँच गर्ने र यात्रुलाई रोकेर फर्काउने कार्य गर्न थालेको आरोप कर्मचारीले लगाएका छन । साँघु साप्ताहिकबाट