काठमाडौं । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेको छ ।
उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
“हराएको नवजात शिशु भक्तपुरको काँडाघारीमा फेला परेको छ”, उनले भने, “बच्चा लिएर जाने महिलालाई पक्राउ गरेका छौँ ।”
काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूति गृहबाट आफ्नो २६ दिनको शिशु चोरी भएको भन्दै प्रहरीलाई मौखिक सूचना दिएपछि प्रहरीले खोजीकार्य सुरु गरेको थियो ।
शिशु चोरीमा संलग्न महिलाको विवाह गरेको तीन वर्ष भएपनि सन्तान नभएपछि शिशु चोरी गरेको पाइएको छ ।
स्रोतका अनुसार, प्रहरी टोली उनको घरमा पुग्दा सिंहले शिशुलाई आफूले नै जन्म दिएको दाबी गरेकी थिइन् । उनले बाटोमा जन्माएर ल्याएको दाबी गरेको एक अधिकृत बताउँछन् ।
प्रहरीले प्रसुति गृहमा देखिँदाको हुलिया अनुसारको उनको कपडा पनि बरामद गरेको छ ।
सीसी टीभी फुटेजमा उनलाई लिन एक किलोमिटर परसम्म उनकी दिदी गएको देखिएको छ । त्यसैले प्रहरीले दिदीलाई पनि नियन्त्रणमा लिएको छ ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, शुक्रबार दिउँसो केहिवेरका लागि शिशु समातेकी मनकुमारी त्यहाँबाट निस्किएर ट्याक्सी चढेकी थिइन् ।
प्रहरीले शुक्रबार साँझ ट्याक्सी चालकलाई समेत नियन्त्रणमा लिएर खोजी थालेको थियो । त्यसक्रममा सिंह पेप्सिकोलामा ओर्लिएर डेढ हिँड्दै घरसम्म गएको खुलेको छ ।
बाटोमा लिनलाई उनको दिदी पनि आएको देखिएको छ । प्रहरीले पक्राउ परेकाहरुविरुद्ध के कसूरमा कारबाही प्रक्रिया अघि बढाउने भन्ने टुंगो लगाइसकेको छैन ।