बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

भ्रष्टाचार ढाकछोपमा देउवा

आइतबार, पुष ८ २०८०

काठमाडौं । सत्तारुढ सबै भन्दा ठूलो दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा नै भ्रष्टाचारको ढाकछोपमा उत्रिएका छन् ।

उनले भ्रष्टाचारी जोगाउने मात्र होइन सुशासनमा आँच आउने अनेक क्रियाकलाप गरेको पाइन्छ । काण्डै काण्डको पर्दाफास भइरहेको पछिल्लो अवस्थालाई हेर्दा उनको परिवारका सदस्य नजोडिएको कुनै काण्ड नै छैन भन्दा पनि फरक पर्दैन ।

गण्डकी प्रदेश प्रथम प्रदेश सम्मेलन पोखरा सभागृहमा मङ्गलवार देउवाले उद्घाटन गरेका थिए । सो सम्मेलनको स्टेजमा विभिन्न ब्यानर राखिएको थियो ।

कांग्रेसले सम्मेलनको ब्यानरमा ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔ’ लेखेको वाक्य कार्यक्रम सुरु हुनुभन्दा केहि समय अघि हटाएको थियो ।

कार्यक्रम हुने स्टेजमा ‘विरासतको रक्षा गरौँ, नेपाली कांग्रेस बचाऔँ, इमान भएकाहरूलाई जिम्मेवारी राखौँ, भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ, कांग्रेस चरित्र पुनः स्थापित गरौँ’ लेखिएको थियो । त्यसबाट ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ’ वाक्य हटाएको हो ।

१३ चैत २०७९ मा नक्कली भुटानी शरणार्थी बनाएर ८ सय ७५ नेपालीलाई अमेरिका पठाउने खेलोफड्कोमा नेपाली कांग्रेसका प्रभावशाली नेता नै सकृय रहेको रहस्य खुल्यो । तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण नै समातिए । तर उनी अहिले धरौटी बुझाएर जेलबाट छुटेका छन् । देउवाका सकृयतामा उनी जेलबाट छुटेको आशंका गरिएको छ ।

नेकपाको सरकार भएको बेला एक दिन देउवाले वाइड बडी जहाज खरिदमा भएको भ्रष्टाचारबारे हिम्मत गरेर संसदमा बोलेका थिए । लगत्तै यो काण्डमा सार्वजनिक लेखा समितिले छानबिन थाल्यो र देउवातिर पनि संलग्नताको शंकाको सुई सोझिन थाल्यो, त्यसपछि देउवा मौन मात्र रहेनन्, काण्डलाई नउचाल्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुनय विनय नै गरेको चर्चा चलेको थियो ।

लेखा समितिले सांसद राजन केसीको नेतृत्वमा गठन गरेको अध्ययन उपसमितिले प्रतिवेदन बुझाउनै लाग्दा काण्डमा देउवाको समेत संलग्नताको पोल खुलेको थियो । अध्ययनका क्रममा माओवादीको सहयोगमा २४ जेठ २०७४ मा प्रधानमन्त्री भएका देउवाले चार दिनपछि २९ जेठमा वाइड बडी खरिदको रकम भुक्तानीका लागि सटही सिफारिसको निर्णय गरेको तथ्य भेटियो । त्यसपछि त्यो काण्ड अहिले तै चुप मै चुप छ ।

२२ असोज २०७७ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुचर्चित बुढीगण्डकी जलविद्युत् आयोजनामा प्रमुख दलका नेताहरूले ९ अर्ब रुपैयाँ बाँडिचुँडी खाएको आरोप लगाएका थिए । उनले शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डमाथि यस्तो आरोप लगाएका थिए ।

यो आयोजनासँग जोडिएर भएका चलखेलको विषयमा बोल्दै नेता भट्टराईले भनेका थिए, ‘मलाई थाहा छ, मेरो पालामा सुरु गरेको बुढीगण्डकीमा ९ अर्ब रुपैयाँ केपी ओली, शेरबहादुर देउवा र प्रचण्डहरूले बाँडेर खानुभाछ । मलाई थाहा छ, प्रमाणित गर् भने गर्न सक्छु । बुढीगण्डकी अलपत्र परेको छ ।’

अहिलेको बहुचर्चित एनसेल भ्रष्टाचार प्रकरणमा पनि देउवा परिवारको नाम जोडिएको छ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले खुलमखुल्ला वर्तमान प्रधानमन्त्री प्रचण्ड पुत्री र देउवाका पुत्रको यस प्रकरणमा हात रहेको आरोप लगाउँदै आएका छन् ।

देउवा पत्नी आरजु राणालाई दर्जनौं घोटाला काण्डमा मुछिएको आरोप लाग्ने गरेको छ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने सेटिङको क्रममा भएको एउटा अडियो संवाद समेत बाहिर आएको थियो । त्यो त्यतिकै सेलायो । नेपाल आयल निगमको अर्बौ रुपैयाँ घोटाला काण्डमा संलग्न भएको भन्दै आरजु राणाले भारतीय आयल कर्पोरेशन आईओसीबाट समेत कमिशन खाँदै आएको आरोप लाग्ने गरेको छ ।