काठमाडौं । एकाधबाहेक अरू मन्त्रीको रिपोर्ट कार्ड निराशाजनक पाएसँगै प्रधानमन्त्री प्रचण्ड मन्त्री फेर्ने मुडमा पुगेका छन् ।
मन्त्रीहरू झण्डायुक्त गाडी चढ्ने र स्टण्टबाजीमा रमाउनेभन्दा माथि उठ्न नसकेपछि सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि त्यसका लागि ‘ग्रिन सिग्नल’ दिएको बुझिएको छ । अधिकांश मन्त्रीहरूको कार्यसम्पादनप्रति प्रधानमन्त्री सन्तुष्ट छैनन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले मन्त्रीहरू फेरेर भए पनि परिणाम दिनेगरी काम गर्ने बताएका छन् । मोरङको मिक्लाजुङ–५ मा माओवादीले आयोजना गरेको आमसभालाई शुक्रबार सम्बोधन गर्दै उनले प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भए पनि कामलाई गति दिने बताए।
प्रतिबद्धता पूरा नगरेका मन्त्री फेरिने उनको भनाइ छ । ‘आफूले सहमति व्यक्त गरेर प्रतिबद्धता जनाएका कतिपय काम पनि पूरा गरेका छैनन् । त्यस्ता मन्त्रालयको पुनर्गठन, मन्त्री फेरेर भए पनि कामलाई गति दिने प्रतिबद्धता व्यक्त गरेको छु,’ उनले भो ।
गत वर्षको आम चुनावअघि ‘प्रचण्ड’ले भनको थिए, ‘सम्भवतः अब मेरो अन्तिम इनिङ हो । एकपटक देशको नेतृत्व गरेर राष्ट्र र जनताले सम्झिरहने काम गर्ने इच्छा छ ।’ चुनावपछि नभन्दै उनलाई देशको नेतृत्व गर्ने अवसर जुर्यो । सत्ता सारथि फेरिए पनि नेतृत्व फेरिएको छैन । उनी झण्डै एक वर्षदेखि सरकारको नेतृत्वमा छन् । पुस १० गते उन प्रधानमन्त्री भएको एक वर्ष पुग्दै छ ।
प्रधानमन्त्री आफैँले उद्घोष गरेको ‘अन्तिम इनिङ’मा चुनौतीका चाङबीच राष्ट्र र जनताले सम्झिरहने काम गर्ने अन्तिम अवसर पनि थियो । तर, एकवर्ष बित्नै लाग्दा पनि अवस्थामा खासै परिवर्तन आएको छैन ।
नागरिकहरू चरम निराशामा रहँदै गर्दा उनीहरूले आशा जगाउने कुनै काम गर्न सकेका छैनन् । सकेका छैनन् । प्रधानमन्त्री प्रचण्ड आफ्नो कार्यकाललाई अन्तिम अवसरका रूपमा लिँदै दौडिरहेका बेला मन्त्रीहरू भने सुस्त गतिमा छन् । उनी आफ्नै मन्त्रीहरूप्रति असन्तुष्ट भएकाले पुनर्विचार गर्ने मनस्थितिमा पुगेका हुन् ।