जनकपुरधाम । सत्तारूढ नेपाली कांग्रेस मधेश प्रदेशको बिहीबारदेखि धनुषाधाममा सुरु भएको प्रथम सम्मेलनको उद्घाटनका क्रममै किचलो देखिएको छ ।
प्रदेश सभापति कृष्ण यादवले एकलौटी रूपमा पेलेर अघि बढेको भन्दै डा. शेखर कोइराला पक्षले सम्मेलनको उद्घाटन सत्र नै बहिष्कार गरेको थियो ।
सभापति यावदविरुद्ध कोइराला पक्ष उत्रिरहँदा सम्मेलनको उद्घाटनमा आसनग्रहणका क्रममा पनि विवाद भएको छ । मर्यादाक्रमलाई लिएर विवाद हुँदा कोइराला पक्षले उद्घाटन सत्र नै बहिष्कार गरेको हो ।
केन्द्रीय सभापति शेरबहादुर देउवाको विरोध गर्दै उद्घाटनस्थलमै कोइराला पक्षले पम्प्लेटसहित प्रदर्शन गरेका थिए ।
आसनग्रहणका क्रममा कोइराला पक्षका नेताहरूले बहिष्कार गरिरहँदा अर्का नेता विमलेन्द्र निधि पनि मञ्चमा बस्न मानेनन्। उनको नाम पटक-पटक उद्घोषकले लिए पनि निधि आसनग्रहणको मर्यादाक्रमलाई लिएर असन्तुष्ट भएर मञ्चमा गएनन्।
पार्टी उपसभापति समेत भइसकेका निधी गृहनगरमै मञ्चमा बस्न नपाएको भन्दै उनकै शुभचिन्तकहरुले सामाजिक संजालमा टिप्पणी गरेका छन्, ‘निधी गृहनगरमै पार्टीको नेतृत्व पंक्तिबाट पहिलोपटक अपमानित भएका छन् ।’
कतिपयले निधि कोइराला समूहतर्फ जान सक्ने संकेत त गरेको होइन भन्ने गाइँगुइँ गरिरहेका थिए भने कतिपयले कार्यक्रम स्थल जनकपुरधाम भए पनि नेता निधि र धनुषा सभापति योगेन्द्र पजियारलाई मञ्चमा प्राथमिकता दिन नसक्नु भूल भएको टिप्पणी गरिरहेका थिए ।
स्थानीय तिरहुतीयागाछी मैदानमा आयोजित सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्रीहरू सहभागी थिए।
मधेश प्रदेशका आठ जिल्लाका ८२५ जना प्रतिनिधिको सहभागिता रहेको सम्मेलनमा प्रदेश समितिको राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदनमाथि छलफल गरिने प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए।