आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

अर्थमन्त्री र सचिवको नियत नै खराब

बिहिबार, पुष ५ २०८०

काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक रहेको दावी गर्दै आएका छन । आयात बढेको, पुँजीगत खर्च, रेमिट्यान्स उच्च गतिका साथ बढेको दावी मन्त्री महतले गर्दै आएका छन । विदेशी मुद्राको शोधानान्तर स्थिति बलियो हुँदै गएको, निर्यात बढेको दावी गर्न छोडेका छैनन् ।

२०८० मंसिर २७ गते बुधवार मन्त्रालयमा आयोजित कार्यकालको एक वर्षे पत्रकार अन्तरक्रिया कार्यक्रमा मन्त्री महतले यी रटान दोहो¥याउन चुकेनन् । करिब ११ महिनाको वस्तु तथा सेवा आयात गर्ने विदेशी मुद्रा सञ्चिति रहेको बताएका थिए । तर, सरकारले भन्सार महशुल, आयकर र अन्तशुल्क राजस्व असुली भने लक्ष्यअनुसार उठाउन सकिरहेको छैन । केही माडवारी व्यापारी र आयातकर्ताहरूलाई पोसेर व्यापक राजस्व चुहावट गरी वस्तु आयात भइरहेको गुनासो बाहिर आएका छन ।

नेपाल–भारत सीमाबाट भन्सार छली व्यापक तस्करी भएर सामान आयात गर्न सरकारले छुट दिएकै कारण लक्ष्यअनुसार राजस्व उठ्न नसकेको स्रोतले बताएको छ । सरकारले राजश्व चुहावटलाई कडाइका साथ नियन्त्रण गर्न कुनै चासो नदिएको गुनासो बाहिर आएको छ । फेरि मन्त्री भएर सरकारमा पुगिने हो कि होइन भनेर गठबन्धन सरकारका मन्त्रीहरूकै इसारामा यस्ता कार्य भइरहेको स्रोतले जानकारी दिएको छ । व्यापक रूपमा तस्करी, राजस्व चुहावट, भ्रष्टाचार र घुसखोरी मौलाउँदा पनि अर्थमन्त्री अर्थतन्त्र सुधारको बाटोतर्फ उन्मुख भइरहेको हावादारी आश्वासन बाँड्दै हिंडिरहेका जानकारहरुले आरोप लगाएका छन ।

मुलुकको यस्तो अवस्था रहेको बेलामा विकास–निर्माणको काम भने विदेशी ऋण र अनुदानमा मात्र सीमित बन्न पुगेको छ । तर, अर्थमन्त्री महतले भने बिकासका निर्माणका कामको लागि बजेट अभाव नरहेको गफ दिइरहेका छन् । चालू आर्थिक वर्षमा विकासका निर्माणका काम तीनवटै सरकारबाट अपेक्षित रुपमा हुन सकिरहेको छैन । संघीय सरकारले स्थानीय तह र प्रदेश सरकारलाई पठाउनुपर्ने विभिन्न शीर्षकका अनुदान र सशर्त रकम दिएको छैन । यो अवस्थामा सरकारको एक वर्षको कार्यकाल उपलब्धिविहीन जस्तै भएको बताइन्छ । साँघु साप्ताहिकबाट