बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संघीयताको वाहकहरुले जनताको सरकारबारे बुझाउन कन्जुस्याँई गर्नुहुन्न : प्रधानमन्त्री

सोमबार, पुष २ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय सरकार आएपछि विकासले फड्को मारेको र त्यो संघीय लोकतान्त्रिक गणतन्त्रले सम्भव भएको बताएका छन् ।

ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय तहका जनप्रतिनिधिलाई संघीयताको पक्षमा बोल्न आग्रह गरे ।

‘संघीयता आएपछि अहिले ७ सय ५३ स्थानीय तहकै काम हेर्दा गर्व महसुस हुनुपर्छ । तर संघीयताको वाहकहरुले जनताको सरकार बारे जनतालाई बुझाउन कन्जुस्याँई गर्नहुन्न ।’ उनले भने, ‘ऐतिहासिक परिवर्तन बारे जनतालाई भनेनौं भने देश पछाडि फर्किन सक्छ । संघीय लोकतान्त्रिक गणतन्त्रबारे स्थानीय सरकारका प्रतिनिधिले किन सकारात्मक किन भन्दैनौं  ?’

प्रचण्डले गणतन्त्र विरोधीहरुले नकारात्मक भास्य बनाएर सम्पूर्ण सविधान र परिवर्तनलाई निस्तेज गर्ने कसरत गरिरहेको भन्दै परिवर्तनका बाहकहरुले बोल्नुपर्ने समेत बताए ।

हेर्नुहोस् पूर्णपाठ

कार्यक्रमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनज्यू,
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यज्यू,
सम्पूर्ण जनप्रतिनिधिज्यूहरू,
सम्पूर्ण अतिथिज्यूहरू,
कर्मचारी साथीहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित सम्पूर्ण महानुभावहरू ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक कलानगरी, नेपालकै जेष्ठ स्थानीय तहको रूपमा रहेको ललितपुर महानगरपालिकाले नगरपालिका स्थापनाको १०५ वर्ष पूरा गरेको यस सुखद अवसरमा नगरबासीहरू, जनप्रतिनिधिहरू, कर्मचारीहरू लगायत सम्बद्ध सबैमा बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।
फोहोर संकलन गर्ने अड्डाको रूपमा वि.सं. १९७५ मा छेमडोल अड्डाको नामबाट स्थापना भई आज महानगरपालिकाको रूपमा आफ्नो पहिचान बनाउन सफल यस महानगरपालिकाको आफ्नै गौरवपूर्ण इतिहास छ ।
वार्षिकोत्सवको यस सन्दर्भमा महानगरपालिकाले पूर्वाधार विकास, संस्कृति तथा सम्पदाको संरक्षण, सेवा प्रवाह र सुशासनका क्षेत्रमा अनुकरणीय र अनुसरणीय कार्य गर्दै आएको कुरा उल्लेख गर्न सान्दर्भिक ठान्दछु ।
उज्यालो तथा हरियालीको प्रवद्र्धन गर्दै ‘‘स्मार्ट शहर’’ को रूपमा समेत परिचित यस नगरले गरेका विकासका प्रयासहरू सह्रानीय छन् । यी कार्यहरू राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत प्रशंसनीय रहेको मैले अनुभूति गरेको छु । यसका निम्तिसमेत सिङ्गो महानगर परिवारमा बधाइ ज्ञापन गर्दछु ।
खासगरी काठमाडौं उपत्यकामा देखिएको फोहोरको समस्या काठमाडौंका सबै स्थानीय तहको मूलभूत समस्याको विषय रहेको सङ्घीय सरकारलाई अवगत नै छ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका सन्दर्भमा मैले निकै गम्भीरतापूर्वक छलफल एवं यसको वैज्ञानिक एवं दीर्घकालीन व्यवस्थापनका निम्तिसमेत पहल गर्दै आइरहेको कुरा यहाँहरूलाई अवगत नै छ । त्यसका निम्ति मेरै पहलमा पटकपटक बैठक गरी समस्या समाधानको पहलसमेत गरिएको छ ।
फोहोर व्यवस्थापन परम्परागत रूपमा होइन, आधुनिक प्रविधियुक्त विधिबाट दीर्घकालीन व्यवस्थापन र आम्दानीको स्रोत एवं रोजगारी सिर्जनासँग जोडेर जानुपर्दछ भन्नेमा सङ्घीय सरकार स्पष्ट छ । तसर्थ, फोहोर व्यवस्थापनको महानगरको प्रयासमा सङ्घीय सरकारको सधै साथ र सहयोग रहने जानकारी गराउँदै दीर्घकालीन र प्रतिफलमुखी व्यवस्थापनमा केन्द्रित हुन म महानगरलाई विशेष आग्रह गर्दछु ।
खानेपानी समस्याको निराकरणका लागि पनि सङ्घीय सरकार यहाँहरूकै साथमा रही नगरवासीलाई स्वच्छ खानेपानी व्यवस्था गर्न प्रतिवद्ध छ । त्यस्तै भौतिक एवं मानवीय विकासका अन्य पक्षमा पनि सङ्घीय सरकारको तर्फबाट आवश्यक समन्वय र सहयोग रहने नै छ ।
त्यस्तै नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य वीमा कार्यक्रमलाई अपनत्व लिँदै महानगरले आजदेखि शुभारम्भ गरी कार्यान्वयनमा ल्याएकोमा म ज्यादै हर्षित् छु । यस कार्यक्रम प्रभावकारी रूपमा सम्पूर्ण नगरबासीसम्म बिस्तार हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
खासगरी सार्वजनिक निर्माणमा देखिएका कमीकमजोरी र सम्पदाको पुनर्निर्माणमा देखिएका नीतिगत र कानुनी जटिलताका लागि आएका गुनासोहरूका उचित सम्बोधन गरिनेछ । सार्वजनिक खरिद प्रक्रियामा नीतिगत र कानुनी सुधारका लागि प्रयास भइरहेकाले यो समस्याको सम्बोधन हुने कुरा पनि म तपाईहरूलाई विश्वास दिलाउँछु ।
संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ । नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही, पारदर्शी र नागरिकमैत्री हुनुपर्दछ । समग्र स्थानीय सरकारको विश्लेषण गर्दा त्यो जिम्मेवारी र जवाफदेहिता पूरा गर्न सफल भएकोमा म ललितपुर महानगरपालिकाका जनप्रतिनिधिसहित सम्पूर्ण परिवारमा धन्यवाद व्यक्त गर्दछु ।
ललितपुर महानगरपालिकाले मूर्त र अमूर्त सम्पदा संरक्षणमा लिएको चासो र गरेको चिन्तन वास्तवमा प्रशंसनीय छ । महानगरपालिकाभित्र पुनर्निर्माण भइरहेका अन्य मठमन्दिर, देवालय, शिवालय यसका ज्वलन्त उदाहरण हुन् । यसलाई पर्यटन प्रवद्र्धन गर्ने तथा संस्कृतिलाई आयआर्जनसँग जोड्ने कुरामा हामीले विशेष ध्यान दिनैपर्दछ । भाषा, कला, संस्कृति, भेषभुषा, खानपान लगायतका क्षेत्रमा हामीसँग जुन विविधता र वैभव छ, त्यसलाई नागरिकको जीवनमा सुधार ल्याउने प्रयोजनका निम्ति व्यवस्थापन र विकास गरेर मात्र हामीले विविधताको संरक्षण र प्रवद्र्धनसमेत गर्न सक्दछौं । यस विषयमा यहाँहरूले गम्भीरतापूर्वक सोच्नुभएकै होला भन्ने मैले विश्वास लिएको छु ।
पूर्वाधार निर्माण मात्रै विकास होइन, जनताको जीवनमा सुखको प्रत्याभूति गराउन सक्ने विकास मात्रै वास्तविक अर्थमा विकास हो । यस सन्दर्भमा ललितपुर महानगरपालिका अग्रणी भूमिकामा पनि छ, आगामी दिनमा समेत यसको निरन्तर विकासको अपेक्षा गर्दछु ।
ललितपुर महानगरपालिकाले एक परिपक्व, बौद्धिक, अनुभवी, मिलनसार र सिर्जनशील नेतृत्व प्राप्त गरेको छ । महानगरको विकासमा मेयर चिरीबाबु महर्जनले जसरी पहल लिँदै आउनुभएको छ, त्यो आफैमा महत्वपूर्ण छ । महानगरको विकासमा सबै विचार, भावना र समूहलाई संयोजन गरेर लैजाने उहाँको भूमिकाकै कारण हुनुपर्छ, नीति–कार्यक्रम र बजेट निर्माण र सबैजसो निर्णयमा महानगर विवादरहित ढङ्गले अगाडि बढिरहेको छ । यो आफैमा खुसीको कुरा पनि हो ।
१०५ औं स्थापना दिवसको अवसरमा म ललितपुर महानगरपालिकाको नेतृत्व लगायत सम्पूर्णलाई समावेशी, समता र न्यायपूर्ण ढंगबाट आफ्ना गतिविधि र कार्यक्रमलाई अघि बढाउन थप उत्प्रेरणा र उर्जा प्राप्त होस् भन्ने कामना गर्दछु ।
अन्त्यमा, महानगरको ऐतिहासिक, धार्मिक र सांस्कृतिक गरिमालाई चीरकालपर्यन्त जीवन्त राख्न जनप्रतिनिधिसहित सम्पूर्ण कर्मचारीको सामूहिक प्रतिबद्धता र एकता रहनेछ भन्ने अपेक्षाका साथ पूर्वाधार विकास, मानवीय विकास र सुशासनको प्रवद्र्धनमा महानगरका हरेक सकारात्मक प्रयासहरूमा नेपाल सरकारको साथ र सहयोग रहने विश्वास दिलाउँछु । र, फेरि एकपटक तपाईहरू सबैमा बधाइ तथा शुभकामना व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद ।
(ललितपुर महानगरपालिकाको १०५औ स्थापना दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले गर्नुभएको सम्बोधन ।। २ पौष २०८०, ललितपुर )