आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

निर्वाचन हार्नु परे पनि अब काँग्रेसले गठबन्धन गर्दैन : महान्त्री थापा

आइतबार, पुष १ २०८०

पाल्पा । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसका कार्यकर्तालाई अर्को दलको चिन्हमा भोट हाल्न लगाउने गल्ती नगर्ने बताएका छन् ।

शनिबार नेपाली काँग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनलाई तानसेनमा सम्बोधन गर्दै महामन्त्री थापाले हिजो जे भयो भयो, अबको यात्रामा काँग्रेसका व्यक्तिहरुलाई रुख चिन्ह बाहेक अर्को चिन्हमा मत हाल्न लगाउने गल्ती र अपराध काँग्रेसले नगर्ने बताए ।

‘काँग्रेस भनेको आस्थाको मन्दिर हो, तर त्यो मन्दिर माथि चोट लागेको छ, त्यसैले नेपाली काँग्रेसले महासमितिको बैंठकबाट हात जोडेर भन्नुपर्छ कि जे भयो भयो अब यो भन्दा अगाडिको यात्रामा कुनै निर्वाचनमा हारिएला भन्ने डरले, जितिएला भन्ने लोभले काँग्रेसका मान्छेलाई रुखभन्दा अर्को चिन्हमा मत हाल्न लगाउने गल्ती, अपराध अब हामीले गर्ने छैनौं भनेर हाम्रो यात्रा सुरु गर्नुपर्छ ।’ उनले भने ।

थापाले २०८४ सालमा सबै पालिका, सबै निर्वाचन क्षेत्र हार्नु परे पनि काँग्रेसले गठबन्धन नगर्ने दाबी गरे । ‘ निर्वाचनमा बरु हार्न परोस्, तर कार्यकर्ताको शीर निहुरिने गरी अर्को दललाई भोट हाल्न लगाउने गरी गठबन्धन गरिँदैन,’ उनले भने, ‘सबै कम्युनिष्ट मिलुन्, स्वन्तत्रहरू पनि मिलुन् तर काँग्रेस एक्लै लड्छ ।’ त्यतिन्जेल एक्लै लड्न सक्ने काँग्रेस बनाउने समेत उहाँले दाबी गर्नुभयो ।