काठमाडौं । महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेतालाई पक्राउ पुर्जी जारी गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले आन्दोलन घोषणा गरेको छ ।
सरकारसँग भएको सम्झौताविपरीत विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको भन्दै नेकपाले आन्दोलन घोषणा गरेको हो ।
आन्दोलन अनुसार आज मसाल जुलुस प्रदर्शन गर्ने, भोलि न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
जिल्ला अदालत काठमाडौंले विप्लवसहित सो पार्टीका नेताहरू खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, माइला लामा तथा राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।
अदालतको सूचनाअनुसार उनीहरूविरुद्ध राज्यविरुद्धको कसुरमा पक्राउ पुर्जी जारी भएको हो । काठमाडौं जिल्ला अदालतले चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, माइला लामा र राजु कार्कीलाई पक्राउ पुर्जी जारी गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले नै बनाएको समाजवादी मोर्चाको एक घटकका महासचिव नेत्रविक्रम चन्दसहित शीर्ष नेताबिरुद्ध पक्राउ पुर्जी जारी भएपछि समाजवादी मोर्चामा खैलाबैला सुरु भएको छ ।