बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकारसँग सभामुखको गुनासो

मंगलबार, मंसिर १२ २०८०

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको नियमित समय बाहेक बैठक राख्दा कर्मचारीहरुलाई अतिरिक्त सुविधा नदिएको गुनासो कर्मचारीहरुले गरेको बताएका छन् ।

संसद र समितिका कामकारबाही अतिरिक्त समयमा सञ्चालन गर्नका लागि सरकारले बजेट विनियोजनमा नियन्त्रण गरेको बताउँदै उनले संसदीय गतिविधि अघि बढाउन आर्थिक पाटोलाई अर्थमन्त्रीले नियन्त्रण गरेको बताए ।

सोमवार संसदीय समितिका सभापतिहरुसँग समितिको कामकारबाहीलाई अघि बढाउनेबारेमा सिंहदरबारमा छलफल गर्दै उनले यस्तो बताएका हुन् । संसद र संसदीय समितिको बैठक कार्यालय समयमै राख्न अर्थमन्त्री डा.प्रकाशशरण महतले आग्रह गरेकाबेला सभामुखले नियमित समय बाहेक बैठक राख्दा कर्मचारीहरुलाई अतिरिक्त सुविधा नदिएको गुनासो कर्मचारीहरुले गरेको बताएका थिए ।

उनले विगतमा संसदलाई विभिन्न विदेशी एवं दातृ निकायहरुबाट सहयोग प्राप्त हुने भएपनि पछिल्लो समय सहयोग घट्दै गएको र कतिपय सहयोग नेपालका लागि उपयुक्त नभएकाले पनि कम बन्दै गएको बताए । उनले संसदीय गतिविधि अघि बढाउन आर्थिक पाटोलाई अर्थमन्त्री डा. महतले नियन्त्रण गरेको आरोप लगाए । बजेटको अभावमा सभा प्रभावकारी हुन नसकेको र सरकारले संसदलाई चलायमान र प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ थियो ।

सभामुख घिमिरेले विगतका बैठकमा कर्मचारीहरुलाई अतिरिक्त समयको भत्ता दिन नसकेको भन्दै यसलाई व्यवस्थित नगर्ने हो भने संसद र संसदीय समिति चल्न कठिन रहेको बताए ।

सभामुख घिमिरेले संसदीय समितिहरुमा विषयवस्तु दोहोरिने र कार्यक्षेत्र स्पष्ट नहुने समस्या रहेको भन्दै आवश्यक समिति सभापतिहरुले समन्वय गर्नुपर्ने समेत बताए । कार्यक्षेत्र र विषयवस्तुमा समस्या भए छलफल गरी समाधान गर्नुपर्नेमा सोच्न समिति सभापतिहरुलाई उनले निर्देशन दिएका थिए ।

सभामुख घिमिरेले समिति बनेको ५ महिना बितिसक्दासमेत समितिको कार्यक्षेत्र स्पष्ट नभएकोमा आपसी समन्वय गर्नुपर्ने आवश्यकता रहेको औंलाए ।