आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सुनसरीमा एसपी रेग्मीको ज्यादती

सोमबार, मंसिर ११ २०८०

काठमाडौं – जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले एक महिलालाई गैरकानुनी हिसाबले हिरासतमा राखेको आरोप लाग्दा पनि प्रहरी प्रधानकार्यालय मौन बसेको छ । सुनसरी प्रहरी स्रोतका अनुसार सहकारीको रकम दुरुपयोग सम्बन्धमा परेको उजुरीका आधारमा पक्राउ गरिएका ५ जना मध्ये एक महिलालाई पनि पक्राउ गरेका थिए ।

उनले ती महिलाको नामसमेत सार्वजनिक नगरी थुुनामा राखेको भन्दै आफन्तहरुले प्रहरी कार्यालयमै आपत्ति जनाएका थिए । स्रोतका अनुसार एसपी रेग्मीले बिदाको दिन पार्नेगरी शुक्रबार साँझ मात्र ति महिलासहित ५ जनालाई पक्राउ गरेका थिए ।

चार जनाउपर सहकारीसम्बन्धी उजुरी भए पनि उजुरीमा कुनै साइनो नभएकी महिला हिरा मगरलाई थुनामा राखेको र सर्वसाधारणलाई भेट्न नदिएको स्रोतले जनाएको छ । इटहरीमा रहेको अम्बे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँचजनालाई पक्राउ गरिएको थियो ।

तीमध्ये सहकारीसँग सरोकार राख्ने चार जनाको नामचाहिँ प्रहरीले खुलाएको थियो । ‘उनलाई प्रहरीले पक्राउ गरेको थाहा पाएपछि कपडा दिन भनेर आएको भेट्न पाइएन’, हिराका आफन्तले दृष्टिसँग भने ।

बचतकर्ताको रकम अपचलन गरेको आरोपमा अन्य चार जनामाथि भने अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष फणीन्द्र मगर, सञ्चालकहरू सिला गजमेर, राहुल अग्रवाल र कुमार आले रहेका छन् । तर, हिराको कसुर के हो भन्ने बारेमा जानकारी नदिएको स्रोतले जनाएको छ । तत्कालीन एसएसपी छविलाल बन्जाडे काठमाडौं परिसरमा रहेका बेला उनी बौद्धमा डिएसपी रहेका थिए । त्यतिबेला उनको ट्रयाक रेकर्ड त्यति सकारात्मक रहेको छैन । अहिले सुनसरीमा पनि उनको ट्रयाक रेकर्ड राम्रो नभएपनि शक्ति केन्द्रको बलमा उत्कृष्टको पुरस्कार पाएका थिए । दृष्टिबाट