काठमाडौं – बाबुराम भट्टराई अन्ततः माओवादी केन्द्रसँग पार्टी एकता गर्न सहमत भएका छन् । नेपाल समाजवादी पार्टीले भट्टराईको नेतृत्वमा एकता संयोजनमा समिति बनेको छ । भट्टराईका दाहिने हात भनिएका नेताहरुले नै भट्टराईलाई साथ नदिएपछि महिन्द्र राय यादव नेपाल समाजवादी पार्टीमा हावी भएका छन् । स्रोतका अनुसार, बाबुरामलाई साथ नदिने स्थितिमा सहअध्यक्ष गंगानारायण श्रेष्ठकै समूह पनि रहेको थियो ।
नेसपामा राजनीतिक भविष्य नदेखेका तर माओवादी केन्द्रमा समाहित भएर सिन्धुलीको राजनीतिमा सक्रिय हुने इच्छा सहअध्यक्ष गंगानारायण श्रेष्ठले गरिरहेका छन् । माओवादीको चुनाव चिन्हबाट प्रदेश सांसद जितेका श्रेष्ठ अहिले बागमती प्रदेशको आन्तरिक मामिला मन्त्री रहेका छन् । श्रेष्ठमात्र होइन, बाबुरामको स्वकीय सचिवको रुपमा काम गरेका फडिन्द्र देवकोटा र विश्वदीप पाण्डे पनि एकताको पक्षमा लागेका छन् ।
देवकोटा प्रचण्डको निर्वाचन क्षेत्र गोरखाबाट प्रदेश सांसद रहेका छन् । अहिले गण्डकी को प्रदेश सांसद रहेका देवकोटा बाबुराम अर्थमन्त्री हुँदादेखिकै सचिवालयमा बसेका काम गरेका नेता हुन् । उनी पनि नयाँ पार्टीभन्दा माओवादीमै फर्किने अभियानमा लागेका थिए ।
यता, लामो समय बाबुरामको प्रमुख स्वकीय भएर काम गरेका पाण्डे पनि प्रचण्डलाई पटकपटक भेटेर एकताको बातावरण बनाउन सक्रिय भएर लागेका थिए । बाबुराम भट्टराई आफ्ना भनिएका साथीहरुबाट नै दबाबमा परेपछि मन नलाग्दा नलाग्दै एकता संयोजन समितिको संयोजक बनेर अघि बढ्ने भएका छन् ।
मन्त्री श्रेष्ठको टोली बाबुरामलाई मनाउन विहानदेखि बेलुकासम्म टोखा पुग्ने गरेका थिए । बाबुरामको निवास हारमोनी कोलोनीमा पुगेर उनीहरुले नेपाल समाजवादी पार्टी जसरी पनि एकतामा जानुपर्ने बताउने गरेका थिए ।
नेपाल समाजवादी पार्टीले प्रगति नगर्ने र अरु पार्टीमा जान नसक्ने भएपछि माओवादी नै विकल्प भएको भन्दै तत्काललाई र आफूहरुका लागि भएपनि एकतामा गईदिन आग्रह गरेका थिए । त्यसैले, अहिले बाबुराम एकतामा गएर नेता कार्यकर्ताको व्यवस्थापनपछि निस्क्रिय बस्न सक्ने चर्चा पनि चलेकाे छ । साँघुबाट