आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज युवा संघ र दुर्गा प्रसाईं समूहको राजधानी केन्द्रित विरोध प्रदर्शन

ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी

बिहिबार, मंसिर ७ २०८०

काठमाडौँ । आज नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाईं नेतृत्वको समुहले राजधानीमा छुट्टाछुट्टै विरोध प्रदर्शनको कार्यक्रम गर्दैछन् ।

दुर्गा प्रसाईंको समुहले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल मूख्य नारा दिएर विरोध कार्यक्रम गर्दैछ ।

बल्खुमा प्रसाईं नेतृत्वको महाअभियानले प्रदर्शन गर्नेछ भने एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ ।
प्रदर्शनको पूर्व सन्धा मंगलबार र बुधबार साँझ एमालेको भातृ संगठन युवा संघ र अनेरास्ववियुले काठमाडौंमा मसाल जुलुस समेत गरेका थिए ।

सुरुमा दुवै पक्षले माइतीघर मण्डलामा कार्यक्रम गर्ने बताए पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दुवैलाई त्यहाँ कार्यक्रम गर्न अनुमति दिएन । त्यसपछि प्रदर्शनको स्थान सारिएको हो । प्रशासनले ती लगायत सम्बेदनशील क्षेत्रमा निषेधाज्ञा समेत जारी गरेको छ ।

आज बल्खु र तीनकुनेमा हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागू गरेको छ ।

प्रदर्शनमा कुनै अप्रिय घटना घट्न नदिन र दुई समूहबीचको सम्भावित मुठभेड रोक्नका लागि ७ हजार सुरक्षाकर्मी परिचालनको तयारी गरिएको छ ।

जुलुस आउने बाटो र कार्यक्रम स्थलमा मात्रै मा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।

उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ । प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ ।
प्रदर्शनको कारण आज उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित हुने निश्चित छ । यसैगरी ट्राफिक प्रहरीको एफएमले पनि सडकको अवस्थाबारे निरन्तर जानकारी दिने व्यवस्था मिलाएको जनाएको छ ।