काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजदेखि सुरू हुने भएको छ।
जडिबुटीस्थित एक ब्याङ्क्वेटमा बस्ने केन्द्रीय समिति बैठकमा नेकपा माओवादीसँग पार्टी एकताका लागि संवाद समिति गठन, समसामयिक राजनीतिक घटनाक्रम, पार्टी विधानका केही विषय लगायतमा छलफल गर्ने एजेन्डा रहेको नेसपा केन्द्रीय कार्यालयले जनाएको छ।
सोमबार राति भट्टराई निवास टोखामा चार शीर्ष नेताहरूको बैठकमा आफ्नै नेतृत्वमा एकता संयोजन समिति गठन गर्न तयार भएका थिए ।
बैठकमा अध्यक्ष बाबुराम भट्टराईसहित अर्का अध्यक्ष महेन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादव सहभागी थिए ।
वृहत् समाजवादी मोर्चा बनाउने अभियानकै क्रममा माओवादीसँग एकता गर्न लागेको नेसपाले बताउँदै आएको छ ।
सोमबार बसेको पार्टी एकता वार्ता समितिले शीर्ष नेताहरूकै नेतृत्वमा संयोजन समिति बनाउन सुझाव दिएको थियो ।
नेसपाले मंगलबार केन्द्रीय कार्यकारिणी समिति बैठक गरी एजेन्डा तय गरेको थियो।
नेकपा माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता गर्ने विषयमा लामो समयदेखि छलफल भइरहेका छन्।
गत मंसिर ४ गते माओवादी र नेसपाबीच पार्टी एकता संयोजन समिति गठन गर्ने, दुवै पार्टीले उठाएका वैचारिक र नीतिगत विषयमा सहमति गरी अघि बढ्नेजस्ता सहमति भएको थियो।