काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री बनेको १ सय दिन अस्थिर बनेर बितेको छ। यसअघि कुनै पनि सरकारको मधुमास भनिने यो अवधि यति साह्रो उपलब्धिविहीन अवस्थामा गुज्रिएको थिएन।
प्रचण्ड पुस १० गते एमालेको विशेष सहयोगमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए भने पुस ११ गते पद तथा गोपनियताको शपथ लिँदै पहिलोपटक मन्त्रिपरिषद् गठन गरेका थिए । पुस ११ गते शपथग्रहण गर्दा प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेको सहयोगमा सिंहदरबारको कुर्सीमा पुगेका थिए । एक महिनाभित्र विश्वासको मत लिने बेलामा नेपाली कांग्रेसले पनि साथ दिएपछि प्रधानमन्त्री प्रचण्डले एमालेसँग टाढिन मौका पाए । अन्ततः राष्ट्रपतिको चुनावसम्म आइपुग्दा एमाले–माओवादी गठबन्धन नै भत्कियो । गठबन्धन भत्काउन उनको जति भूमिका थियो त्यो भन्दा बढी सकृयता कांग्रेसको थियो । गठबन्धन भत्किएपछि उनले दोस्रोपटक विश्वासको मत लिनुपर्यो।
सत्ताका लागि जे पनि गर्ने ट्याग लागेका प्रचण्ड यतिबेला १० दलिय गठबन्धन भएपनि कमजोर प्रधानमन्त्री बनेका छन् । उनले एमालेसहितको समीकरण बनाउँदा आफू प्रधानमन्त्री र एमालेलाई राष्ट्रपति दिने सहमति गरेका थिए। तर, उनले त्यो सहमति कार्यान्वयन गरेनन्। कांग्रेसले अघि सारेको उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपति बनाए। त्यसपछि नयाँ गठबन्धन बनेको अवस्थामा उनले पुनः चैत ६ मा दोस्रोपटक विश्वासको मत लिए।
तीन महिनाको अवधिमा प्रचण्डले सातचोटि मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्यो। मन्त्रीहरू बाहिरिने र भित्रिने सिलसिलामै प्रचण्ड सरकारका तीन महिना खेर गए । सरकारले प्राथमिकता दिनुपर्ने क्षेत्रमा काम नै गर्न सकेको छैन । प्रधानमन्त्री हेलिकोप्टर चढेर शिलान्यास र उद्घाटनमा हिँड्ने काममै व्यस्त छन् । एकदिनमा तीन–चारवटासम्म कार्यक्रममा दौडधुप गर्छन्। प्रधानमन्त्री हुनेबित्तिकै उद्घाटन, शिलान्यासजस्ता कार्यक्रममा नजाने भने पनि अहिले त्यस्तै कार्यक्रममा भ्याइनभ्याइ देखिएको छ। प्रधानमन्त्री भएको पाँच दिनपछि प्रचण्डको भनाइ थियो–भाषण कम, जनताको सेवा धेरै गर्ने प्रतिज्ञा गरेको छु । ‘जति काम गर्छु राम्रो मात्रै गर्छु । मेरा लागि परीक्षा पनि हो । उत्तीर्ण हुनैपर्छ,’ प्रचण्ड वाचा गरेरै मैदानमा उत्रिए । ‘जनताको सेवा गर्ने’ अभिव्यक्ति दिएका प्रचण्डका गतिविधि भने नेताको सेवामा केन्द्रित छन्, कहिले एमालेका त कहिले कांग्रेसका नेतासँगको वार्तामै अधिकांश समय गुजारेर । समीकरण बनाउने र भत्काउनमै केन्द्रित हुँदा प्रचण्डले त्रैमासिक परीक्षा पास गर्न ‘ग्रेस’मार्कको सहारा लिनुपर्ने छ ।
विज्ञहरूका अनुसार एक–डेढ वर्षयता देश अस्थिरताको चक्रमा फसेको छ । प्रतिपक्षमा बसेको एमाले वैशाखमै सरकार ढल्ने बताउँदै आएको छ । राप्रपाले पनि सरकार अस्थिरता तिर अघि बढेको बताउँदै आएको छ । सरकारमा सहभागी दल नेपाली कांग्रेसको संस्थापन इतर पक्ष पनि मन्त्रिमण्डल विस्तारमा चित्त बुझाई रहेको छैन । सरकारलाई पूर्णता दिनका लागि नै दलहरूका बीचमा खिचातानी चलिरहेको छ ।
सय दिनमा समय केही न केही उल्लेख्य काम हुनुपर्ने हो। तर, प्रधानमन्त्री दाहालको यो समय देश र जनताका लागि निरर्थक बनेको छ। उनले आफ्नो समय आफू कसरी सत्तामा टिक्ने भन्नेमै व्यतीत गरेका छन्।
यो कार्यकालमा केही उल्लेख्य कार्य गरेर देखाउने उद्घोष गरेका प्रचण्डले बाँकी दिनमा के–के गर्ने हुन् त्यो भने प्रतिक्षा गर्नैपर्ने छ ।