काठमाडौं । मन्त्रालय भागवण्डालाई लिएर सत्तरुढ दल नेपाली कांग्रेस भित्र रडाको मच्चिने संकेत देखिएको छ । कांग्रेससहितको गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरे । तर, कांग्रेसले मन्त्रीको नाम दिन नसकेका कारण अझै पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । गठबन्धनमा कांग्रेसको भागमा आठ मन्त्रालय परे पनि शुक्रबार चारजनाले मात्रै जिम्मेवारी सम्हालेका छन् ।
कांग्रेसबाट उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री पूर्णबहादुर खड्का, डा. प्रकाशरण महतले अर्थ मन्त्रालय, रमेश रिजालले उद्योग मन्त्रालय र सीता गुरुङले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
कांग्रेसको भागमा परेका अन्य मन्त्रालयहरू परराष्ट्र, कानुन मन्त्रालय, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालय अझै खाली छन् । पार्टीभित्र मन्त्रीका आकांक्षीको व्यवस्थापन गर्न नसक्दा र गुटगतरूपमा नेता शेखर कोइराला पक्षले सम्मानजनक ठाउँ नदिएको भन्दै नाम नदिएपछि सभापति देउवाले आफूनिकट चार नेतालाई मात्रै मन्त्री बनाए ।
सभापति देउवाले कांग्रेसले पाएका आठमध्ये ६ मन्त्रालयमा आफूनिकटलाई पठाउने र दुईवटा मन्त्रालयमात्रै कोइराला समूहलाई दिने तयारी गरेका थिए। तर, कोइराला समूहले तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नदिने भनेपछि मन्त्रिपरिषद् विस्तार प्रभावित भएको थियो । त्यसो त मन्त्री छनोटलाई लिएर सभापति देउवा समूहमै रडाको मच्चिएको छ । बिहीबार आठ मन्त्रालयको जिम्मेवारी पाउने नेताको अन्तिम टुंगो लागेको सार्वजनिक भएको थियो । ती नाममा संस्थापन समूहका नेताहरू मोहनबहादुर बस्नेतलाई स्वास्थ्य र एनपी साउदलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने भनिएको थियो । तर, देउवा समूहकै कतिपय प्रभावशाली नेताहरूको तीव्र विरोध तथा दबाबका कारण बस्नेत र साउदले शपथ लिन नपाएको स्रोतको भनाइ छ ।
कांग्रेसले सरकारमा आठ मन्त्रालय पाउँदा कोइराला पक्ष दुईवटा मन्त्रालय लिन सहमतजस्तै थियो । कोइराला समूहबाट उपसभापति धनराज गुरुङ र डिकबहादुर लिम्बू मन्त्री बन्ने निश्चित थियो । तर, शेखर पक्षले आफूनिकटका पदाधिकारी र सिनियर नेतासँग छलफल गरेरै तीनवटा मन्त्री नपाए नाम नपठाउने निर्णय लियो । आफैंले प्रस्ताव गरेकालाई मन्त्री बनाउन देउवा तयार भए पनि शेखर पक्षले दुईको सट्टा तीनजनाको अडान लिनुमा भने अर्कै कारण रहेको कांग्रेस–वृत्तमा चर्चा छ ।
कांग्रेसले पाउने भागबण्डामा देउवाले शेखर पक्ष, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र शशांक कोइराला पक्षलाई नसमेटे पछि कांग्रेस भित्र अर्को रडाको सृजना भएको छ । देउवाले शेखरलाई दुईवटा मन्त्रालय दिएर ६ वटामा आफूनिकटकै नेतालाई मात्र मन्त्री बनाउने निर्णय गरेपछि प्रकाशमान सिंहबाट मन्त्रीको दाबी गर्ने राजन केसी र शशांकका तर्फबाट दाबी गर्ने दीपक गिरी वा दीपक खड्का पनि मन्त्री बन्न पाएनन् । त्यस्तै सिटौला पक्षका नेता पनि मन्त्री नबन्ने निश्चित भयो ।
शशांक र सिंह आफैँ पनि सरकारमा जान इच्छुक थिए तर देउवाले उनीहरुलाई मन्त्री नबनाएपछि कांग्रेसमा सुरुवातमै मनमोटाव सुरु भएको छ ।
यसैबीच कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । आज बिहान १० बजेका लागि बोलाइएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ । बैठकमा सरकारमा पठाउन बाँकी चार जना मन्त्रीको नामावली टुंगो लगाउने, आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल हुने कांग्रेस स्रोतले बताएको छ।