काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।
सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा गठिन समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही सदस्य छन् । समितिको बैठकले दलको नेता छान्न निर्वाचनको मिति तोक्नेछ ।
आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन सम्पन्न गर्न समिति गठन गरेसँगै अब कांग्रेसमा दलको नेता को बन्ला भन्ने चासो बढेको छ । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्री हुने उल्लेख छ ।
सभापति शेरबहादुर देउवासहित नेताहरू रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र महामन्त्री गगन थापा संसदीय दलको नेता बन्ने दाउमा छन्। यीमध्ये देउवा, कोइराला र थापा प्रतिस्पर्धामा उत्रिने संकेत देखिएको छ । तर देउवा र थापाबाहेक अरु खुलिसकेका छैनन् ।
अहिलेसम्म कांग्रेसमा दलको नेताका आकांक्षीमा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री थापा मात्र देखिएका छन् । नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री बन्ने इच्छा राखे पनि दलको नेताका विषयमा केही बोलेका छैनन् । त्यसैले चुनाव हुने दिनसम्म कोइरालाले कसलाई समर्थन गर्लान् भन्ने चासो देखिएको छ । संस्थापन इतर समूहमा कोइराला र महामन्त्री थापामध्ये एकजनालाई दलको नेता बनाउने प्रयास भइरहेको छ । तर, कोइरालाले आगामी महाधिवेशनमा सभापतिको चाहना राखेकाले यसपटक उनी दलको नेतामा नउठ्ने बताइन्छ । तर उनले महामन्त्री थापालाई समर्थन गर्ने कि नगर्ने भन्ने खुलिसकेको छैन ।
यता पूर्वमहामन्त्री एवं सांसद डा. शशांक कोइरालाले भने संसदीय दलको नेतामा सभापति देउवालाई साथ दिने भएका छन्। आइतबार कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा सहभागी बनेका डाक्टर कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो समर्थन सभापति देउवालाई रहेको प्रतिक्रिया दिएका थिए। महामन्त्री थापालाई पनि उनकै समूहका नेता शेखर कोइराला बाधक बन्न सक्ने कांग्रेसभित्र चर्चा सुरु भएको छ।
स्रोतका अनुसार कोइरालालाई प्रधानमन्त्री देउवाले नयाँ सरकारमा परराष्ट्रमन्त्रीको अफर गरेका छन् । सोही कारण उनी यसपटक दलको नेतामा देउवातिर खुल्ने सम्भावना धेरै रहेको नेताहरूको अनुमान छ । गत वर्ष सम्पन्न महाधिवेशनमा कोइराला र थापा एउटै समूहबाट चुनावमा गएका थिए । कोइराला सभापतिमा पराजित भए भने थापा महामन्त्रीमा अत्याधिक मतका साथ विजयी भएका थिए ।
यदि कोइरालाले थापालाई समर्थन नगरे कांग्रेस संसदीय दलको नेतामा देउवा नै भारी बहुमतका साथ विजयी हुने अनुमान गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकारको दाबी गर्न १० पुससम्मको समय दिएकी छन् ।